शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
पुरातात्त्विक दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको २९ वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन्।
यही ऐतिहासिक तिलौराकोट दरबारको उत्तर-पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठूलो र अर्को केही सानो आकारका यी स्तूप शुद्धोधन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्।
कपिलवस्तु क्षेत्रमा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक महत्वका धेरै सम्पदा छन् तर संरक्षण नहुँदा जीर्ण भएका छन्। केही सम्पदा ढिस्कोका रूपमा मात्र अस्तित्वमा छन् भने कतिपयको उत्खनन भइसके पनि व्यवस्थित संरक्षण हुन सकेको छैन।
स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्वपूर्ण पुरातात्त्विक संरचना नष्ट हुने जोखिम छ। 'यस्ता महत्व बोकेका सम्पदालाई समयमा संरक्षण गरिएन भने भविष्यमा खोजेर वा निर्माण गरेर पनि पुनः बनाउन सकिँदैन,' उनले भने।
खुला आकाशमुनि रहेका जोडी स्तूप घाम, पानीलगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथप्रदर्शक राजकुमार यादवले बताए। उनका अनुसार स्तूपमाथि छानो र वरिपरि तारबारको व्यवस्था गर्नुका साथै नियमित सरसफाइ आवश्यक छ।
जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख दामोदर सापकोटाले बताए। उनले स्तूप क्षेत्रको नियमित सरसफाइका लागि आवश्यक जनशक्तिको अभाव रहेको जानकारी दिए।
पुरातत्व विभागले यी स्तूपको उत्खनन सन् १९६८ र १९६९ मा गरेको थियो। पुरातत्वविद्हरूका अनुसार स्तूप बुद्धका माता मायादेवी र पिता शुद्धोधनको स्मरणमा निर्माण गरिएको हुन सक्ने अनुमान छ। चौथो शताब्दीमा निर्माण भएको मानिएको ठूलो स्तूप चार चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्त्विक अध्ययनबाट पुष्टि भएको छ। रासस
प्रकाशित: २७ भाद्र २०८३ १०:४१ शनिबार