कैलालीको टीकापुर वडा नं. १ समितीपुर र विपदपुरका २१ जना विद्युत् आयोजनाको सुरुङमा मजदुरी गर्न गएका थिए। उनीहरूलाई गाउँकै तुलाराम चौधरीले आयोजनामा काम गर्न लगेका हुन्। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएका व्यक्तिका परिवार आफैँ आफन्तको खोजी गर्न जान सक्ने अवस्थामा नभएपछि पैसा उठाएर गाउँका ‘भलवन्सा’लाई पठाएका छन्।
थारू समुदायमा प्रत्येक गाउँ–टोलमा वर्षभरिका लागि चुनिएको अगुवालाई भलवन्सा वा बड्घर भनिन्छ।
सम्पर्कविहीन भएका २१ जनाका परिवारले दुई–दुई हजारका दरले पैसा संकलन गरेर गाउँका भलवन्सा अखिल थारूलाई पठाएका हुन्। परिवारको आर्थिक अवस्था कमजोर र परिवारमा जान्नेसुन्ने व्यक्ति पनि नभएका कारण २१ जनाका परिवारले दामासाहीका हिसाबले पैसा उठाएर भलवन्सालाई पठाएको सम्पर्कविहीनका आफन्तले बताएका छन्।
‘सम्पर्कविहीन भएका हामी २१ जनाका परिवारले दुई–दुई हजार उठाएर ४२ हजार जम्मा गरी खोजीका लागि गाउँका भलवन्सालाई पठाएका छौँ,’ टीकापुर वडा नं. १ समितीपुर निवासी लाहाना चौधरीले भनिन्।
समितीपुरका १६ जना र विपदपुरका पाँच जना सम्पर्कविहीनका परिवारले आफन्तको खोजी गरिदिन अनुरोध गरेर भलवन्सालाई पठाएको उनले बताइन्। लाहानाका श्रीमान् मानबहादुर चौधरी पनि सम्पर्कविहीन छन्।
आफन्तको आग्रहमा बाढी आएको चौथो दिन भदौ १३ गते भलवन्सा थारू २१ जना मजदुरको खोजीका लागि नुवाकोटतर्फ गएका थिए। अहिले पनि उनी सम्पर्कविहीनको खोजीमै उतैतिर रहेको उनले बताइन्।
सम्पर्कविहीन २१ जनाको खोजीमा गएका भलवन्साले त्यहाँ उनीहरूको कुनै अत्तोपत्तो पाएका छैन्। सम्पर्कविहीन भएका व्यक्तिका आफन्तहरू नगरपालिकामा गएर नगरप्रमुखलाई पनि गुहारेका छन्। दुईपटक हामी नगरपालिका गएर नगरप्रमुखमार्फत नुवाकोटमा नेपाली सेनाका अधिकारीलाई फोन गरेर समेत सम्पर्कविहीन आफन्तका बारेमा सोधखोज गरे पनि कुनै पत्तो नलागेको उनीहरू बताउँछन्।
सुरुङभित्र काम गर्नेका आफन्त अझै जीवितै उद्धार हुने आशामै
भोटेकोशीमा बाढी आएको १५ दिन भइसक्दा पनि सुरुङभित्र मजदुरी गर्ने यी २१ व्यक्तिका आफन्त भने जीवितै उद्धार हुने आशामै बसेका छन्।
‘सुरुङभित्रबाट जीवितै निकालिएकाले मेरा श्रीमान् पनि सुरुङभित्र जीवितै छन् भन्ने लागेको छ,’ लाहाना चौधरीले भनिन्, ‘छिटो उद्धार गरेमा जीवितै घर फर्कने आशा छ।’
सम्पर्कविहीन आफन्तका परिवारमा सोधखोज गर्न तथा कुनै जानकारी दिन अहिलेसम्म सरकारको कुनै मान्छे नआएको उनीहरूले बताएका छन्।
वडाध्यक्ष मात्र आएर काम भइरहेको छ, नआत्तिनुहोस् भनेको उनले सुनाइन्।
‘वडाध्यक्ष गाउँमा आएर नआत्तिनुहोस्, काम भइरहेको छ, उद्धार हुन्छ भनेर भनेका छन्,’ उनले भनिन्, ‘आज १५ दिन भइसक्यो, हाम्रो आश मरेको छैन, सरकारले छिटो उद्धार गरिदिनुपर्यो।’
श्रीमान् सम्पर्कविहीन भएको दिनदेखि भोक–निद्रा हराएको उनको भनाइ छ। ‘जति–जति दिन घर्किँदै गइरहेको छ, त्यति–त्यति चिन्ता बढ्दै छ,’ उनले भनिन्।
तीन जनाको जीवितै उद्धार गरेपछि सुरुङभित्र मजदुरी गर्ने सम्पर्कविहीन व्यक्तिका आफन्तमा आशा जागेको हो। सरकारले उद्धारमा ढिलाइ गरेकोमा उनको गुनासो छ।
सरकारलाई छिटो उद्धार गरिदिन सुरुङभित्र रहेका मजदुरका आफन्तले आग्रह गरेका छन्।
‘भदौ १० गते बाढी गएको १५ दिन भइसक्यो। अझैसम्म अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘सरकारले छिटो उद्धार गरिदिनुपर्यो।’
गत असारमा उनका श्रीमान् मानबहादुर चौधरी मजदुरी गर्न गएका थिए। तीन जनाको जीवितै उद्धार गरिएको अपर त्रिशूली–१ को २१६ नम्बर सुरुङभित्र उनका श्रीमान् मजदुरी गर्ने गरेको उनले बताइन्। भदौ १० गते बिहान श्रीमान्ले आफूसँग र छोरीसँग म्यासेन्जरमा कुरा गरेको उनले बताइन्।
सुरुङभित्रै पनि खाना खाने गरेकाले सम्पर्कविहीन व्यक्तिका परिवारमा उनीहरू जीवितै रहेको आशा जागेको हो।
‘अहिलेसम्म मेरो श्रीमान् जीवितै छन् भन्ने लागेको छ,’ टीकापुर नगरपालिका वडा नं. १ का सम्पर्कविहीन अन्तराम चौधरीकी श्रीमती तुलसी चौधरीले भनिन्, ‘सरकारले जति ढिलो गर्यो, त्यति आशा मर्दै जाने हो।’
सुरुङबाट जीवितै उद्धार भएकोले आफ्नो श्रीमान् पनि जीवितै भएको आशा लागेको उनको भनाइ छ।
सरकारले छिटो उद्धार गरिदिएमा श्रीमान् जीवितै घर फर्कने आशा बाँकी रहेको उनले बताइन्। गत वैशाखमा घरबाट उनका श्रीमान् मजदुरी गर्न गएका थिए।
बाढी आएको अघिल्लो दिन भदौ ९ गते साँझ फोनमा कुराकानी भएको उनले बताइन्। घरमा बिरामी अवस्थामा रहेकी बूढी आमाको बारेमा सोधेको उनले बताइन्।
टीकापुरकै तुलाराम चौधरीले विद्युत् आयोजनामा काम गर्न यहाँबाट २१ जना लगेका उनीहरूले बताएका छन्। कामदार खोजेर लैजाने तुलाराम भने बाढीमा परेका छैनन्।
‘सरकारले छिटो उद्धार गरिदिएमा सुरुङभित्र रहेका जीवितै घर फर्कने आशा छ,’ उनले भनिन्।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राविधिकको टोलीले गत शुक्रबार बिहान अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना र शनिबार अपर त्रिशूली–१ को सुरुङबाट एक जनालाई जीवितै बाहिर निकालेको थियो।
प्रकाशित: २४ भाद्र २०८३ १९:३१ बुधबार



-600x400.jpg)