समाज

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ । तर पछिल्लो समय तिहार मनाउने शैलीमा आएको परिवर्तनसँगै सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा पनि विस्तारै हराउँदै जान थालेको छ ।

आधुनिक झिलीमिली बत्ती, डिजे र नयाँ मनोरञ्जनका माध्यमप्रति बढ्दो आकर्षण तथा युवाको पलायन र बसाइँसराइले परम्परागत देउसीभैलोको रौनक घट्दै गएको स्थानीयको अनुभव छ । डडेल्धुराको आलिताल गाउँपालिका–३ की ७० वर्षीया सरस्वती भट्टलाई पुरानो तिहारको सम्झना अझै ताजै छ ।  

उनका अनुसार पहिले तिहारमा घरको मूलढोका, आँगन, तुलसीको मठ र गोठसम्म माटाका दियो बालेर उज्यालो बनाउने चलन थियो । साँझ परेपछि गाउँभरि दियोको उज्यालो र देउसीभैलोका मौलिक भाकाले छुट्टै उत्साह थप्ने गथ्र्यो । अहिले माटाका दियोको ठाउँ झिलीमिली बत्तीले लिँदै गएको र परम्परागत भाका पनि कम सुनिन थालेको उनी बताउँछिन् । त्यस्तै, नवदुर्गा गाउँपालिका–४ की शान्ति कुँवरलाई पनि पहिलेको देउसीभैलोको सामूहिक रमाइलो सम्झना छ । साथीभाइ मिलेर समूह बनाउने, गाउँका घरघरमा पुगेर गीत गाउने र घरपरिवारले गच्छेअनुसार धान, चामल, मकै तथा दक्षिणा दिने चलन रहेको उनी बताउँछिन् ।  

त्यसरी सङ्कलन भएको अन्न र पैसाले साथीभाइ मिलेर रमाइलो गर्ने गरिन्थ्यो । अहिले भने त्यस्तो परम्परा र सामूहिकता कम हुँदै गएको उनको भनाइ छ ।

स्थानीय लोक तथा देउडा गायक सुधिर जैरुका अनुसार पहिले देउसीभैलोमा स्थानीय लोकभाका, परम्परागत बाजागाजा र भट्याउने शैलीलाई विशेष महत्व दिइन्थ्यो । गीतमार्फत घरपरिवारको सुख, शान्ति, समृद्धि र उन्नतिको कामना गरिन्थ्यो । तर अहिले डिजेमा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दा मौलिक भैलोको पहिचान कमजोर बन्दै गएको उनी बताउँछन्।

देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यममात्र नभई सामाजिक सद्भाव, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो । यसले गाउँघरमा विभिन्न उमेर समूहका मानिसलाई एकै ठाउँमा जोड्ने काम गर्दै आएको छ ।  संस्कृतिका जानकार कैलासकुमार पाण्डेका समयअनुसार चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक भए पनि मौलिक परम्परा बिर्सन नहुने बताउँछन् । नयाँ पुस्तालाई पुराना भाका, बाजागाजा र देउसीभैलोको सांस्कृतिक महत्वबारे जानकारी गराउँदै यसको अभ्यास र संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

आधुनिक मनोरञ्जनलाई आत्मसात् गर्दै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक संस्कृति र परम्परालाई पनि निरन्तरता दिन सकेमात्रै तिहारको सांस्कृतिक पहिचान जोगाउन सकिने देखिन्छ ।

प्रकाशित: २५ कार्तिक २०८३ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App