समाज

पशुपतिमा तीजका लागि ड्रोन र सीसीटीभीसहित कडा सुरक्षा : दुई हजार ५०० प्रहरी परिचालन

हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा लाम लागेको छ।

प्रहरीका अनुसार तीजका अवसरमा पशुपति क्षेत्रमा सुरक्षा अवस्था सामान्य रहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले बताएका हुन्।

उनका अनुसार बिहान ३ः१५ बजेदेखि चार वटै ढोका खुला गरिएकोमा बिहान ७ बजेसम्म करिब नौ हजार दर्शनार्थीले दर्शन गरेका छन्। अहिले करिब तीन हजार दर्शनार्थी लाइनमा छन्।

प्रहरीले दर्शन सहजीकरण, सूचना, खोज तथा उद्धार, परिवार पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापनलगायतका सेवा दिइरहेको छ। सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी, ड्रोन, सञ्चारलगायत प्रविधिको प्रयोग गरिएको छ भने सादा पोसाकका प्रहरी तथा महिला, पुरुष र विपद् उद्धार प्रहरी परिचालन गरिएको छ।

दुई सिफ्टमा सुरक्षा व्यवस्थापन गर्न दुई हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। एक सिफ्टमा एक हजार २५० प्रहरी खटिएका छन्।

प्रकाशित: २९ भाद्र २०८३ ०८:१० सोमबार