समाज

आहारा र उपयुक्त बासस्थान पाएपछि शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्यो

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा र बासस्थानको राम्रो व्यवस्थापनका कारण पाटेबाघको सङ्ख्या ५० पुगेको छ।

३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा आहारा प्रजातिको घनत्व वृद्धि, घाँसेमैदानको उपलब्धता र चोरीसिकारी शून्य भएसँगै बाघको सङ्ख्यामा उल्लेख्य सुधार आएको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार क्यामेरा ट्र्यापिङ विधिबाट गत चैतमा गरिएको सर्वेक्षणमा बाघको सङ्ख्या बढेर ५० पुगेको हो।

सन् २०२२ को सर्वेक्षणमा यहाँ ३६ वटा बाघ रहेका थिए। हाल निकुञ्जभित्र प्रतिवर्ग किलोमिटर ११३ वटा आहारा प्रजाति उपलब्ध रहेको र बाघका मुख्य आहारा मानिने चित्तल, जरायो, रतुवा र जङ्गली बँदेल पर्याप्त मात्रामा पाइने उनले जानकारी दिए।

एसियाकै ठूलो घाँसेमैदान रहेको शुक्लाफाँटामा प्राकृतिक तथा कृत्रिम जलाधारको राम्रो व्यवस्था छ। निकुञ्जभित्रका रानी ताल, बाबा ताल, चौधर नदी र महाकाली नदीका साथै कार्यालयले निर्माण गरेका कृत्रिम पोखरीहरू वन्यजन्तुका लागि पानीका प्रमुख स्रोत बनेका छन्।

साना र शाकाहारी वन्यजन्तुका लागि पर्याप्त घाँस र पानी उपलब्ध भएकै कारण थोरै क्षेत्रफलमा पनि धेरै बाघ अटाउन सफल भएका हुन्।

बाघको सङ्ख्या वृद्धि खुसीको विषय भए पनि यसले मध्यवर्ती क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्वको जोखिम समेत थपेको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले बूढा बाघहरू आहाराको खोजीमा बस्तीतिर आउन सक्ने जोखिम रहेकाले समुदायलाई सचेत गराउँदै पर्यापर्यटनमार्फत स्थानीयलाई रोजगारीमा जोड्नुपर्नेमा जोड दिए।

यस्तै, पर्यटन व्यवसायी गणेश भट्टले महाकाली नदीको पक्की पुल र निर्माणाधीन सुक्खा बन्दरगाहका कारण भारतीय पर्यटक भित्र्याएर शुक्लाफाँटाको बजारीकरण गर्न सकिने बताए।

निकुञ्जमा बाघबाहेक २ हजार ३२३ भन्दा बढी बाह्रसिङ्गा, दुर्लभ सारस, खरमजुरसहित ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेका छन्।

प्रकाशित: २५ श्रावण २०८३ २०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App