समाज

टिकटकर तुलसा अधिकारी थुनामै रहने

टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेशलाई उच्च अदालत पाटनले पनि निरन्तरता दिएको छ। उच्च अदालतले जिल्ला अदालतको निर्णय कानुनविपरीत नदेखिएको ठहर गर्दै त्यसलाई सदर गरेको हो।

न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले अधिकारीको निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने आधार नभएको निष्कर्ष निकालेको हो।

अधिकारीले आफूलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएकी थिइन्। उनीमाथि एक पुरुषलाई हनी ट्र्यापमा पारेर आर्थिक लाभ लिएको आरोप लागेको छ।

यस प्रकरणमा अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ। उनीमाथि सङ्गठित अपराध, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ।

अभियोगपत्रमा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा कानुनअनुसार कडा सजाय गर्न माग गरिएको छ। अदालतमा आरोप पुष्टि हुन बाँकी रहेकाले अधिकारीको कसुरबारे अन्तिम निर्णय न्यायिक प्रक्रियाबाट हुनेछ।

प्रकाशित: १२ कार्तिक २०८३ २०:३५ बिहीबार