जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. १ निवासी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर विरोधमा उत्रेका आन्दोलनरत पक्ष र प्रशासनबिच बिहीबार मध्यरातम भएको सहमतिमा पीडित परिवारले असन्तुष्टि जनाएको छ।
५ बुँदे सहमतिमा आफूहरूको मागलाई समावेश नगरिएको भन्दै गरिमाका बुवा मनोज चौधरीले गुनासो गरेका छन्। पीडित परिवार असन्तुष्ट बनेपछि वीरगन्ज पथलैया व्यवपारेक राजमर्ग खुल्ल सकेको छैन। गएराति सहमतिपछि विरोधका सबै कार्यक्रम फिर्ता लिएको जनाइएको थियो।
भदौ २ गते घटेको उक्त घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबिच गएराति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा वार्ता भएको बताइएको थियो।
लामो वार्तापछि दुवै पक्षबिच ५ बुँदे सहमति कायम भएसँगै चरणबद्ध रूपमा भइरहेका सबै आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले बताए। बैठकले पीडित परिवारलाई उचित राहत र रोजगार व्यवस्थापनका लागि स्थानीय तहको समेत सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी पहल गर्ने निर्णय गरेको छ।
यसका साथै, घटनामा संलग्न संदिग्धहरू हाल प्रहरी हिरासतमा रहे पनि अनुसन्धानका क्रममा अन्य कसैको संलग्नता पुष्टि भएमा उनीहरूमाथि पनि नियमानुसार कडा कारबाही अघि बढाउने सहमति गरिएको थियो।
प्रकाशित: ५ भाद्र २०८३ ०९:३२ शुक्रबार