समाज

खेलाडीलाई तीन पाथी आलु पुरस्कार

धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा जस्तै यस वर्ष पनि आलु मेला सम्पन्न भएको छ। गुम्दा एकता युवा क्लब र थामरा धार्चे युवा क्लबले भदौ १ देखि ५ गतेसम्म उक्त मेला आयोजना गरेको हो।  

‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला, संस्कृति, पर्यटनको प्रवर्द्धनमा हाम्रो अभियान’ नाराका साथ मेला आयोजना गरिएको आयोजक गुम्दा एकता क्लबका अध्यक्ष मनुराज गुरुङले बताए। मेलामा जिल्लास्तरीय अन्तर क्लब पुरुष र महिला भलिबल प्रतियोगिता तथा स्थानीयस्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।  

पुरुष भलिबल प्रतियोगितामा धार्चे-७ लापुबेँसीको घले हाब्रेस्टिङ युवा क्लब प्रथम, बारपाक सुलिकोटको बाह्रमुले युवा क्लब द्वितीय र बारपाक सुलिकोट युवा क्लब तृतीय भयो। प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमश: रु ७५ हजार, रु ५० हजार र रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।  

महिला भलिबलतर्फ बारपाक सुलिकोटको टोली ‘ए’ प्रथम, बारपाक सुलिकोटको टोली ‘बी’ द्वितीय र द मुस्कान युवा क्लब तृतीय भए। उनीहरूले क्रमश: रु २० हजार, रु १० हजार र रु सात हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष गुरुङले बताए। प्रतियोगितामा पुरुष र महिला भलिबलतर्फ प्रथम, दोस्रो र तेस्रो हुने सबै टोलीलाई तीन-तीन पाथी आलु प्रदान गरिएको थियो।  

यस्तै, एकल लोक नृत्य प्रतियोगितामा रुपा गुरुङ प्रथम, सुस्मिता सुनार द्वितीय र निस्मा गुरुङ तृतीय भइन्। समूहगत लोकनृत्य प्रतियोगितामा धार्चे आमा समूह गुम्दा प्रथम, गुम्दा एकता महिला समूह गुम्दा द्वितीय र हिमाली आमा समूह लाप्राक तृतीय भए। धार्चेको गुम्दा, लाप्राकलगायत आसपासका गाउँलाई आलु पकेट क्षेत्रका रूपमा चिनिन्छ। यहाँको मुख्य खाद्यान्न बाली नै आलु हो। यहाँ उत्पादित आलु जिल्लाका सदरमुकाम तथा विभिन्न स्थानीय तहसँगै पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री गरिन्छ। रासस

प्रकाशित: ८ भाद्र २०८२ ०८:१५ आइतबार