समाज

लमजुङमा अटो मर्स्याङ्दीमा खस्यो, ६ जना घाइते

तस्बिर: जनक श्रेष्ठ।

लमजुङको बेंसीशहर नगरपालिकास्थित खरखरे पहिरोबाट बिहीबार दिउँसो एउटा अटो करिब सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक राजकिशोर साह तेलिका अनुसार, बेंसीशहरबाट खुदीतर्फ जाँदै गरेको ग.प्र.०४-००१ ह ०२८५ नम्बरको अटो दिउँसो करिब १:३० बजे खरखरे पहिरोको जोखिमपूर्ण सडकखण्डबाट अनियन्त्रित भई नदीमा खसेको हो।

घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीय र अन्य यात्रुहरूको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल, लमजुङ पठाएको थियो।

प्रहरीका अनुसार घाइतेमध्ये ४५ वर्षीया स्यानु माया गुरुङ र ४५ वर्षीया सुस्मिता तामाङको अवस्था गम्भीर छ। उनीहरूको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।

त्यसैगरी, ३५ वर्षीया अन्जली गुरुङ र ४८ वर्षीया धन कुमारी गुरुङको अवस्था मध्यम छ भने चालक ३० वर्षीय टोपबहादुर लामा र ४० वर्षीया शिला देवी गुरुङको अवस्था सामान्य रहेको छ।

दुर्घटनाग्रस्त अटो मर्स्याङ्दी नदीमा डुबेकाले फेला परेको छैन। अटोको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको र सवारीधनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

प्रकाशित: ८ श्रावण २०८२ १५:१० बिहीबार