समाज

बैतडीमा घर भत्किँदा आठ महिनाकी गर्भवतीसहित तीन जना घाइते

बैतडीको मेलौली नगरपालिका–१ सिराडमा कच्ची घर भत्किँदा आठ महिनाकी गर्भवतीसहित एकै परिवारका तीन जना घाइते भएका छन्।

स्थानीय सुने पार्कीको दुईतल्ले घर भत्किँदा उनकी बुहारी र दुई छोरी घाइते भएका हुन्।

घाइते हुनेहरूमा पार्कीकी २२ वर्षीया बुहारी प्रिया पार्की, १८ वर्षीया छोरी मनिषा र १३ वर्षीया छोरी चाँदनी छिन्। बुहारी पार्की आठ महिनाकी गर्भवती रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाका अनुसार घाइतेमध्ये गर्भवती प्रियाको अवस्था गम्भीर छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ। ढुङ्गा र माटोले जोडिएको दुईतल्ले कच्ची घरको मुख्य निधाल (काठको खम्बा) अचानक भाँचिएर घर भत्किएको प्रहरीले जनाएको छ।

घटना लगतै इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घनश्याम जैशीको नेतृत्वमा ६ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित: २२ असार २०८३ १६:२० सोमबार