समाज

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा तीन घाइते

बर्दियाको मधुवन नगरपालिका-९ स्थित हुलाकी सडकखण्डमा शनिबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, राजापुरबाट गुलरियातर्फ जाँदै गरेको भे १३ प ९०४१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे ९ प ९०९६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा भे ९ प ९०९६ नम्बरको मोटरसाइकलका चालक, दाङ घोराही उपमहानगरपालिका-६ का ३८ वर्षीय सन्तोष चौधरी गम्भीर घाइते भएका छन्।

उनको अनुहार, दुवै हात र खुट्टामा चोट लागेको छ। सोही मोटरसाइकलमा सवार राजापुर नगरपालिका-५ की ३७ वर्षीया सुमित्रा चौधरीको पनि अनुहार, हात र खुट्टामा चोट लागेको छ।

अर्को मोटरसाइकलका चालक मधुवन नगरपालिका-६ का ५० वर्षीय ओमबहादुर गुरुङको हातखुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ।

घाइते तीनै जनाको बर्दिया अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते सन्तोष चौधरीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको अस्पतालका मेडिकल अफिसर डा. बैजु यादवले जानकारी दिए।

प्रकाशित: ३१ श्रावण २०८२ २०:२० शनिबार