समाज

जिप १५० मिटर तल खस्दा तीन जनाको मृ`त्यु, ७ वर्षीया बालिकासहित सात घाइते

सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका-२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा शुक्रबार साँझ जिप दुर्घटना भएको हो।

प्रहरीका अनुसार साँझ करिब ६:३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो।

दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको थियो। उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका-२ निवासी ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।

दुर्घटनामा घाइते हुनेमा सिद्ध कुमाख गाउँपालिका-२ का २४ वर्षीय देवबहादुर विक, ५८ वर्षीया सुशीला चलाउने, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका र १० वर्षीय युवराज परियार रहेका छन्।

त्यस्तै, सिद्ध कुमाख गाउँपालिका-३ का १५ वर्षीय कमल बुढाथोकी र ७ वर्षीया बिमला बुढाथोकी भन्ने रुपा बुढाथोकी पनि घाइते भएका छन्।

घाइतेमध्ये देवबहादुर विक र कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगन्जका अस्पतालमा पठाइएको छ।

दुर्घटनापछि प्रहरीले जिप चालक सिद्ध कुमाख गाउँपालिका-२ निवासी ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यान पठाएको छ।

प्रकाशित: १४ कार्तिक २०८३ ०६:४४ शनिबार