काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको रात्रि बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १५६३ नम्बरको रात्रि बसमा सवार तीन जनाले सोही बसमा यात्रा गरिरहेकी महिलामाथि हातपात तथा अभद्र व्यवहार गरेका थिए।
प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार तीनै जनालाई पक्राउ गरेको जानकारी दिए।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटैनाका २१ वर्षीय शमिर विष्ट र २४ वर्षीय अनिल नाथ तथा भीमदत्त नगरपालिका-३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ परेका तीनै जनालाई प्रहरी कार्यालयमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: २० कार्तिक २०८३ १०:०२ शुक्रबार