समाज

विराटनगरको रथयात्रामा हजारौं भक्तजन सहभागी

विराटनगरमा राधाकृष्ण रथयात्रा भव्य रुपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा निकाल्ने गरिएको हो ।  

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएको राधाकृष्णको युगल जोडीको रथयात्रा विराटनगर नगर परिक्रममा गरी सम्पन्न भएको छ । रथले विराटनगरको तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, बरगाछी चोक हुँदै पुनः मन्दिरमा आएर सम्पन्न भयो । रथले नगरको ९ किलोमिटर यात्रा तय गरेको बताइएको छ ।  

वि.सं. १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो । ‘खट यात्रा’ सुरु भएको रथयात्राले ५९ औं संस्करण पूरा गरेको छ । यो रथयात्रा नेपालको सबैभन्दा ठूलो र पुरानो भएकोले पनि यसको छुट्टै महत्व रहेको रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । उनले सबैभन्दा ठूलो भारतको जगनाथपुरीको रथयात्रापछि दोस्रो ठूलो रथयात्रा विराटनगरको रहेको बताएका छन् ।  

राधाकृष्ण सवार  रथलाई पूजाआजा गर्न सहज हुने गरी ४४ स्थानमा विश्राम गर्ने व्यवस्था मिलाइएको थियो। पछिल्लो समय सुनसरी, झापालगायत मोरङका विभिन्न स्थानमा पनि रथयात्रा निकाल्न थालेपछि विराटनगरको रथयात्रामा भक्तजनको उपस्थिति कम हुँदै गएको छ। तथापि, भारतको विहार र पश्चिम बंगालबाट रथको दर्शन गर्न आउने गरेका छन्। 

प्रकाशित: २० भाद्र २०८३ २१:४० शनिबार