समाज

सुलभ र आयुसलाई श्रद्धाञ्जली दिन हजारौं सहभागी

‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपालगन्ज उपमहानगरपालिका- १ का २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षका आयुस थापालाई श्रद्धाञ्जली दिन हजारौं सहभागी भएका छन् । नेपालगन्जबाट उच्च शिक्षा अध्ययन गर्न काठमाडौं गएका उनीहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गएको थियो ।  

दुवैको शुक्रबार अपरान्ह नेपालगन्ज ल्याएपछि अन्तिम श्रद्धाञ्जली दिएर अन्त्येष्टी गरिएको छ । सुलभको शवलाई शुक्रबार बेलुका र आयुसलाई शनिबार(आज) अन्तिम श्रद्धाञ्जली पश्चात अन्त्येष्टी गरियो । बाँकेको डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा दुवै युवाको शवलाई अन्त्येष्टी गरिएको हो । सुलभ र आयुसलाई अन्तिम श्रद्धाञ्जली तथा अन्त्येष्टीका क्रममा हजारौंको सहभागिता रह्यो ।

आफन्तकाअनुसार सुलभ र आयुस परिवारका एक्ला सन्तान हुन् । जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउँदा परिवार र आफन्त मात्र नभएर सिंगो नेपालगन्ज नै शोकमा डुबेको छ । अन्तिम श्रद्धाञ्जली दिन तथा अन्येष्टीमा पुगेका सबैको आँखा रसाए ।  

देशमा परिवर्तनका लागि आफ्नो ज्यानदिने ‘वीर शहीद’ लाई राज्यले उचित सम्मान गर्नुपर्ने परिवार, आफन्त तथा नेपालगन्जबासीको माग छ । शहीदको सपनालाई भुलेर सत्ता स्वार्थमा नलाग्न उनीले आग्रह गरेका छन् । 

प्रकाशित: २८ भाद्र २०८२ १७:४८ शनिबार