समाज

रसुवा बाढी: जो बाढीमा बगेर पनि बाँचे

रसुवा बाढीमा बगेर पनि नयाँ जीवन पाएका नुवाकोट विदुरका २५ वर्षीय विवेक कुमाल यतिखेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। उनलाई बुधबार नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएको हो। घटनाअनुसार उनी बुधबार बिहान साढे ९ बजे विदुर बजारदेखि तल बागवानीमा सेप्टिक ट्यांक निर्माणको काम गर्दै थिए। उनीसँगै अन्य पाँच कामदार थिए।  त्यही बेला बागवानीनजिकैको सशस्त्र प्रहरीले बाढी आउँदै गरेको जानकारी दियो।  चार जना तत्काल भागे। प्रहरीले बाढी आउँदै गरेको जानकारी दिएको एक मिनेट नबित्दै बाढी आयो।  माथि निस्कँदै गरेका विवेक नाम गरेका एक जनालाई भने बाढीले बगायो।

कुमाल करिब डेढ सय मिटर बगिसकेका थिए। ‘त्यति ठुलो बाढीले बगाउन थालेपछि बाँच्ने आशा मारिसकेको थिएँ,’ उनले भने। त्यही क्रममा सशस्त्र प्रहरीले उनलाई बगेकै अवस्थामा उद्धार गर्‍यो। बाहिर निकाल्दा उनी हिलाम्मे थिए। उनको दाहिने खुट्टा भाँचिएको छ भने शरीरका चोटैचोट छन्।  सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको हो।  उनको भाँचिएको खुट्टा उपचार भइरहेको छ। अन्य स्वास्थ्य अवस्था सामान्य छ।  ‘नयाँ जिन्दगी पाएँ, प्रहरीलाई धन्यवाद,’ उनले भने।

रसुवा हाकुबेंसीका निमा दोर्जे लामा पनि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन्।  बौद्ध गुम्बाका लामासमेत रहेका उनी रसुवा बाढीमा परेर पनि बाँच्न सफल भए।  उनलाई नयाँ जिन्दगी पाएको अनुभूति भइरहेको छ। बुधबार बिहान करिब ८ बजेतिर गुम्बामा उनीसहित ६ जना बसिरहेको अवस्थामा एक्कासि बाढी आयो। भाग्ने क्रममा बाढीमा परेको देब्रे खुट्टा भाँचिएको छ। माथिबाट बुवा र भाइले तानेर उनलाई उद्धार गरे। उनीसहित ६ जना माथितिर भागेर बच्न सफल भए।  तीन जना घाइते भए। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।  यति ठुलो बाढीबाट बच्न सफल भएकोमा उनी आफैं पनि चकित छन्।  ‘भगवान्ले बचाउनुभया,’ उनले भने, ‘खुट्टा त भाँचियो तर हिम्मत हारेको छैन।’ लामाका अनुसार गुम्बानजिकै २३० मेगावाटको दुग्धिसरा हाइड्रोपावरमा करिब ७० जना बस्थे।  तीमध्ये आधाजति भाग्न सफल भए भने बाँकी बाढीमा परेको उनले बताए।  उनका अनुसार बाढी आउनुअघि कुनै पूर्वसूचना दिइएको थिएन। ‘सूचना पाइएको भए पहिल्यै भाग्थ्यौं, बाँच्न बाढीभन्दा छिटो दौडिनुपर्‍यो,’ उनले भने। यसपालिको बाढी करिब सात सय मिटर अग्लो भएर आएको लामाले बताए।

रसुवा बेत्रावतीका २८ वर्षीय सुशील डंगोल पनि बाढीमा बगेर बाँच्न सफल भएका छन्।  बुधबार बिहान ९ बजेर १५ मिनेट जाँदा धुन्चेमा रहेका एक चालक साथीले फोन गरेर बाढी आउँदै गरेको जानकारी दिए। फोन सुन्नेबित्तिकै करिब पाँच मिनेट आफन्तलाई फोन गरेर जानकारी दिँदै थिए। घरनजिकै बाढी उर्लेर आएको देखेपछि उनी तत्काल भागे।  त्यसक्रममा उनको खुट्टा र शरीरमा चोट लाग्यो। उनी भाग्दाभाग्दै घर बगिसकेको थियो, आफन्त बाढीमा परिसकेका थिए।  ठुलाबा, भाउजू तथा भतिजाभतिजी सबै बाढीमा परेको उनले सुनाए। उनका बुवा–आमा भने घाँस काट्न गएका कारण बाढीमा परेनन्।  दाइ विदेशमा छन्।  बाँकी आफन्त, घर, जग्गा, घरमा भएको नगद र सुन सबै बाढीले बगायो। आफन्त र निजी सम्पत्ति सबै गुमाएका डंगोल यतिखेर निकै दुःखी छन्।  बाढीको दृश्य सम्झँदा आफू बचेकोमा भन्दा धेरै कुरा गुमाएको पीडाले उनलाई सताएको छ।  ‘अहिले त बाँचेर पनि के गर्नुजस्तो लागेको छ, न घर छ न आफन्त,’ उनले भने।  आफूसँग लगाएको टी–सर्ट र हाफ पाइन्टबाहेक केही नरहेको उनले बताए।

बाढीको सूचना पाएपछि भाग्ने क्रममा नुवाकोट बट्टारकी ११ वर्षीया रिहाना लामिछाने पनि घाइते भइन्।  स्थानीय स्कुलबाट सूचना आएपछि भाग्ने क्रममा घाइते भएकी उनलाई पनि बुधबार राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको हो। उनको छातीको करङ भाँचिएको उनकी आमा रीता लामिछानेले जानकारी दिइन्।  बाढी आएपछि घरसम्म जाने पुल बगाउने डरले उनी हतारिँदै भाग्ने क्रममा स्कुलकै गेटमा लडेर घाइते भएकी हुन्। यी घाइतेबाहेक बिहीबार साँझसम्म शिक्षण अस्पतालमा ४१ जना, वीर अस्पतालमा ४४ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २९ जना रसुवा बाढीका घाइतेको उपचार भइरहेको छ।

शिक्षण अस्पतालमा उपचारका लागि आएका ४१ जनामध्ये बिहीबार दिउँसो १२ बजेसम्म परिचय खुल्न नसकेका एक जनाको मृत्यु भएको सूचना अधिकारी कालीप्रसाद रोसराले बताए।  नेपाल प्रहरीका अनुसार हालसम्म रसुवा बाढीमा परेका २४१ जनाको उद्धार गरिएको छ।  उद्धार गरिएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  

प्रकाशित: १२ भाद्र २०८३ ०९:४८ शुक्रबार