यात्रु तथा सर्वसाधारणलाई पनि यातायात व्यवसायीहरुले जवरजस्ती झोला र यात्रुलाई आफ्नो गाडी चढ्न लछारपछार गर्ने गरेको गुनासो आएपछि त्यस्ता व्यवसायीलाई पक्राउ गरेर मुद्दा चलाइने भएको छ । सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुर्खेत बसपार्कमा यातायात व्यवसायीबाट यात्रुहरुमाथि दुर्व्यवहार गर्ने गरेको गुनासो आएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख (डिआइजी) माधव प्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालयका एससपी सुधिरराज शाहीलाई त्यस्ता व्यवसायीलाई मुद्दा चलाउन निर्देशन दिएका हुन् ।
यसअघि पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले यात्रुमाथि अमानवीय व्यवहार गरेको गुनासो आएपछि एक्सनमा उत्रिएको थियो । जेनजी आन्दोलनपछि यातायात व्यवसायीहरु फेरि पुरानै शैलीले यात्रुहरुको चिल्लीविल्ली हुने गरेको छ । यात्रु तानातानले झोला एउटा गाडीमा यात्रु अर्को गाडीमा समेत चढ्नुपर्ने अवस्था आएको गुनासो यात्रुहरुले गरेका छन् । यात्रु राखेर १ देखि २ घण्टासम्म वीरेन्द्रनगर घुमाउने गरेको समेत यात्रुहरुको गुनासो छ । ‘कहिले काँही दुई घण्टामा कोहलपुर पुग्यो होला भनेर घरबाट कल गर्दा सुर्खेतमै गाडीवालाले धुमाइरहेको हुन्छ,’ एक यात्रुले गुनासो गर्दै भने, ‘केही भन्यो भने गाडीवाला निहुँ खोच्छन् । अव, बसपार्कबाट छुटेको गाडी फर्कन नमिल्ने गरी निगरानी राख्नुपर्छ ।’
प्रहरीले कर्णाली प्रदेशभर गरेका उत्कृष्ट कामहरुको बारेमा पत्रकारहरुमाँझ जानकारी दिएको थियो । कर्णालीमा लागुऔषधलाई कडाईका साथ प्रहरीले अनुसन्धान गरि धेरै सफलताहरु पाएको जानकारी दिईएको छ ।
कुनै पनि ट्राफिक प्रहरीका बारेमा प्रमाणसहित गुनासा आए आफुले कार्वाही गर्ने कर्णालीका ट्राफिक प्रमुख (एसपी) भावेस रिमालले बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) सुधिरराज शाहीले प्रहरीले लागुऔषध नियन्त्रणका लागि सवारी चालकहरुलाई परिक्षण गर्ने गरी व्यवस्थापन गर्न लागेको बताए ।
प्रकाशित: ७ पुस २०८२ १६:०८ सोमबार