समाज

आर्थिक अनियमिततामा संलग्नलाई छुट हुँदैन : प्रमुख काफ्ले

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता तथा प्रहरी आचरण विपरीत कार्यमा संलग्न हुने ट्राफिक प्रहरी कर्मचारीलाई कुनै छुट नदिइने बताएका छन्।

कार्यालयले आइतबार आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले सडकमा खटिने ट्राफिक प्रहरीले आर्थिक अनुशासन, इमानदारी र प्रहरी आचरणमा कुनै सम्झौता गर्न नहुने बताए।

उनका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेका छन्। प्रहरी ऐन तथा नियम विपरीत काम गर्ने कसैले पनि उन्मुक्ति नपाउने उनले स्पष्ट पारे। राज्यले उपलब्ध गराएको तलब तथा सेवा सुविधाप्रति सन्तुष्ट रहनुपर्ने उल्लेख गर्दै प्रमुख काफ्लेले आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए।

ट्राफिक प्रहरीले सेवामा प्रवेश गर्दा लिएको शपथअनुसार देश र नागरिकको सेवामा प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो। सरकारबाट प्राप्त सेवा सुविधाप्रति असन्तुष्टि भए वैकल्पिक बाटो रोज्न सकिने तर अनियमिततामा संलग्न हुन नपाइने उनले बताए।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले ट्राफिक प्रहरीको काम ट्राफिक व्यवस्थापन सवारीसाधनको आवागमन व्यवस्थित गर्नेमा मात्रै सीमित नभई नागरिकको जीवनरक्षा, सार्वजनिक सडक सुरक्षा, सडक अनुशासन र सभ्य समाज निर्माणसँग जोडिएको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए।

असल ट्राफिक प्रहरीले आफ्नो बर्दीको सम्मान गर्ने, कानुनको पालना गर्ने, नागरिकको विश्वास जित्ने र कर्तव्यलाई सेवाका रूपमा लिनुपर्ने उल्लेख गरे।

प्रकाशित: १६ कार्तिक २०८३ ०६:४५ सोमबार