समाज

बाढीपहिरोको पीडाले यस वर्षको दशैं खल्लो

भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा आएको बाढीले जनधनको अपूरणीय क्षति पुर्‍याउनुका साथै बाढीपहिरोका कारण प्रमुख राजमार्ग प्रभावित भएपछि यस वर्षको दशैं विगतको तुलनामा खल्लो बनेको छ। बाढीमा आफन्त गुमाएका, बेपत्ताको खोजीमा रहेका तथा उद्धार र राहत वितरणमा खटिएका चितवनवासीले यस वर्षको दशैंमा विगतको जस्तो रौनक र उत्साह अनुभव गर्न सकेनन्।

भोटेकोशी बाढीमा आफन्त गुमाएका परिवार, त्रिशूली तथा नारायणी नदीमा बाढीपछि उद्धारमा सक्रिय व्यक्ति र राहत वितरणमा खटिएका समाजसेवीका लागि दशैंको खुसीभन्दा विपद्को पीडा गहिरो बनेको छ।

बाढीका कारण ठूलो सङ्ख्यामा मानिस अझै बेपत्ता छन्। कतिपयको शव फेला परे पनि पहिचान हुन सकेको छैन। भेटिएका शवको पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने अवस्था छ। परिवारका सदस्यको मृत्यु र बेपत्ताको पीडाले दशैंको उल्लासलाई ओझेलमा पारेको छ।

भोटेकोशी बाढीपछि गोसाइँकुण्ड तीर्थयात्रामा गएका मामा विश्वनाथ पौडेल बेपत्ता भएपछि चितवनको कृष्णपुरका किशोर सापकोटाका लागि यस वर्षको दशैं खल्लो बन्यो।

“घरमा टीका लगाइए पनि मामाको सम्झनाले हर्षोल्लासका साथ दशैं मनाउन सकिएन। दशैं त आयो, हाम्रोमा आएन,” सापकोटाले भने।

भोटेकोशी बाढीमा बगाएकाहरूको शव उद्धारमा खटिएका संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नवरात्रभर फलाहार बसेर पूजापाठ गरे पनि दशैंको खुसी अनुभव गर्न नसकेको बताए।

“धार्मिक कर्म गरेँ, तर दशैंको उत्साह भएन। नदी किनारमा उद्धारमा खटिँदाका दृश्य सम्झनामा आइरहँदा हर्षोल्लासका साथ दशैं मनाउने अवस्था रहेन,” उनले भने।

भोटेकोशी बाढीपछि चितवनस्थित नारायणी नदीमा तैरिएका शव उद्धारमा एम्बुलेन्स चालकका रूपमा सक्रिय लामिछानेले दशैंको मुखमा खाद्यान्न अभाव झेलिरहेका विपन्न परिवारलाई राहतसमेत वितरण गरेका थिए। विपद्को पीडा र प्रभावित परिवारको अवस्थाले यस वर्षको दशैंमा खुसी हुन नसकेको उनको भनाइ छ।

महाअष्टमीका दिनसमेत खानाको अभाव भएको गुनासो आएपछि भूमिहीन बस्तीमा आफ्नै गाडीमा खाद्यान्न बोकेर पुगेका समाजसेवी विनोद ढकालले यस वर्ष पनि चितवनका पहाडी क्षेत्रमा रहेका चेपाङ बस्तीमा खाद्यान्न वितरण गरे।

“बाढीका कारण कैयौँ मानिसको मृत्यु भयो, कति बेपत्ता छन्। कतिपय परिवार गरिबीको चपेटामा छन्। यस्तो अवस्थामा कसरी खुसीसाथ दशैं मनाउनु? प्रतिकूल परिस्थितिका बीच यस वर्ष समाजसेवामा समर्पित भएर दशैं मनाइयो,” ढकालले भने।

दशैंको टीकाका दिन उनले नेतृत्व गरिरहेको चितवन मानव सेवा आश्रमका ज्येष्ठ नागरिक र बालबालिकासँग टीका लगाए। त्यसपछि परिवार र इष्टमित्रसँग पनि टीका लगाए, तर विगतका वर्षमा जस्तो उत्साह अनुभव गर्न नसकेको उनले बताए।

भोटेकोशी बाढीले बगाएर चितवनसम्म ल्याएका शवको उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले पनि यस वर्षको दशैंमा विगतको जस्तो चहलपहल नदेखिएको बताए। राजमार्ग र भित्री सडकमा सवारीसाधनको आवागमनसमेत कम भएको उनको भनाइ छ।

“सबैतिरबाट आएको प्रतिक्रिया सुन्दा विगतजस्तो दशैं यस वर्ष भएन,” पौडेलले भने।

बाढीपहिरोको जोखिमका कारण कतिबेला पानी पर्ने र राजमार्ग बन्द हुने हो भन्ने त्रासले पनि आवतजावत प्रभावित भएको छ। सडकको अनिश्चितताका कारण मानिसको यात्रा घटेको छ। धेरैले आफ्नै घरमा टीका लगाएर दशैं मनाए पनि आफन्त तथा इष्टमित्रकहाँ जाने क्रम कम भएको छ।

विपद्मा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिको पीडा, प्रभावित परिवारको कठिन अवस्था तथा सडक यातायातमा देखिएको अवरोधले यस वर्षको दशैंको रौनक घटाएको छ। सामान्य अवस्थामा परिवार र आफन्तसँग भेटघाट, रमाइलो र उत्सवमा बित्ने दशैं यस वर्ष धेरैका लागि पीडाको सम्झना र कठिन परिस्थितिबीच बितेको छ।

प्रकाशित: ५ कार्तिक २०८३ १९:०२ बिहीबार