समाज

विदेश पठाउन लागिएको कार्टुन खोल्दा यस्तो सामान भेटियो

फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ रहेको कार्गो कम्प्लेक्स भवनको ‘ए साइड’ मा जडान गरिएको एक्सरे मेसिनबाट कार्गो सामान स्क्रिनिङ गर्ने क्रममा शंकास्पद अवस्थामा उक्त परिमाणको चुरोट फेला परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार स्काइकिङ लजिस्टिक प्रालिमार्फत विदेश पठाउन लागिएको एक कार्टुन सामान एक्सरे मेसिनबाट जाँच गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिई थप परीक्षण गरिएको थियो।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले शंकास्पद कार्टुन खोलेर जाँच गर्दा आवश्यक कानुनी कागजपत्र पूरा नगरी विदेश पठाउन लागिएको ‘सूर्य लक्जरी किङ’ लेखिएको चुरोट फेला परेको बताए।

उनका अनुसार उक्त कार्टुनभित्र १०० बन्डल अर्थात् एक हजार प्याकेट चुरोट फेला परेको हो। ‘अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्समा एक्सरे मेसिनमार्फत सामान जाँच गर्ने क्रममा एक कार्टुन शंकास्पद देखिएको थियो। उक्त कार्टुन खोलेर परीक्षण गर्दा आवश्यक कागजपत्रबिना विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद भएको हो’, प्रवक्ता सिलवालले भने।

बरामद गरिएको चुरोट आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तथा थप अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौंमा बुझाइएको उनले बताए।

प्रकाशित: १० कार्तिक २०८३ ०६:१९ मंगलबार