समाज

यस्तो रह्यो नेपाल-भारत सम्बन्ध सुदृढ गर्ने मिस्रीको दुई दिने भ्रमण

भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन्।  

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल आएका उनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।  

भ्रमणकै दौरानमा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरे।  

भेटवार्तामा सचिव मिस्रीले भारत सरकारको नेतृत्वतर्फबाट शुभकामना व्यक्त गर्दै दुई देशबीचका पारस्परिक लाभका विविध सहकार्यका पक्षमा भएको प्रगतिबारे जानकारी गराएका थिए। साथै प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका थिए।  

दुवै देशका विदेश सचिवबीच विस्तृत छलफल भएको थियो। छलफलमा हालसम्म भएका द्विपक्षीय पहलहरूको प्रगतिबारे समीक्षा गर्दै प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका सम्भावित एजेन्डा र थप सहकार्यका अवसरहरूमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

विदेश सचिव मिस्रीले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई भेटी नेपाली सेनालाई ‘लाइट स्ट्राइक भेहिकल’, ‘क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट’ र सैन्य प्रयोजनका जनावरलगायतका रक्षा सामग्री हस्तान्तरण गरेका थिए।  

भ्रमणका क्रममा दुवै पक्षले भौतिक तथा ‘डिजिटल कनेक्टिभिटी’, रक्षा र सुरक्षा, ऊर्जालगायतका क्षेत्रमा हालैका वर्षमा भएको ठोस प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका थिए। भ्रमणले दुई देशबीचको उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत गर्ने विश्वास लिइएको छ। रासस

प्रकाशित: २ भाद्र २०८२ २१:५६ सोमबार