समाज

‘गाउँमा बुढापाका र बालबालिका मात्र छन्’

बागलुङका धेरैजसो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन्। बसाइँसराइले गाउँ मात्र सुनसान भएका छैनन्। पहिले धान, गहुँ र मकै फल्ने खेतीयोग्य जमिन पनि अहिले उराठिलो बनेका छन्। 

कतै सिउँडी पलाएका छन्, त कतै वनमाराले ढाकिएका छन्। ताल्चा ठोकेको घर पनि चिरिएर रुग्ण बनेका छन्। खास गरी जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी, गलकोट नगरपालिकामा बसाइँसराइ गरेर सहर बजार झर्नेको सङ्ख्या धेरै छ।  

अहिले गाउँमा बुढापाका र बालबालिका मात्र छन्। युवा शक्ति पनि विदेश पलायन भइरहेका छन्। यसले गर्दा वर्षेनी उर्वर जमिन बाँझोमा परिणत हुँदैछ। बसाइँसराइ र जनशक्तिको विदेश मोहको असर उत्पादनमा परेको छ। बागलुङमा कुल एक लाख ७८ हजार ४०६ हेक्टर जमिन रहेको छ। त्यसमध्ये ४६ हजार १४८ हेक्टर जमिनमा खेती गर्न सकिन्छ। हाल ३० हजार ५०३ हेक्टर जमिनमा मात्र खेती भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए।  

कुल जमिनको २५ प्रतिशत मात्र खेतीयोग्य जमिन रहेकोमा अहिले १७ प्रतिशत जमिनमा मात्र खेती हुने गरेको अधिकारीले बताए। बागलुङमा १५ हजार ६४५ हेक्टर जमिन बाँझो रहेको उनको भनाइ छ।  

आगामी वर्ष अझै घट्ने सम्भावना रहेको अधिकारीले बताए। खेतबारीमा काम गर्ने जनशक्ति विदेशिने र बजार झर्ने गर्दा खेतीयोग्य जमिन बाँझो हुँदै गएको उनले बताए। आगामी वर्षहरूमा बाँझो जमिन थप बढ्दै जाने सम्भावना रहेको उनले सुनाए।  

उनले भने, ‘बागलुङ जिल्लाभरि ४६ हजार १४८ हेक्टर जमिनमा खेतीयोग्य जमिन छ, तर अहिले जम्मा ३० हजार ५०३ हेक्टरमा मात्र खेती भइरहेको छ, यो सङ्ख्या पनि अझै घटिरहेको छ, १४ हजार ६२५ हेक्टर जमिन बाँझो छ भने एक हजार २० हेक्टर जमिनमा खेती नगरी अन्य प्रयोगका लागि प्रयोग भएका छन्, जबसम्म गाउँबाट बजार झर्ने र विदेश पलायन हुने अवस्था रोकिँदैन तबसम्म खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै जाने सम्भावना बढेको छ।’  

जैमिनी–४ की देवी शर्माले बारीमा काम गर्ने मान्छे नहुँदा अहिले आफ्नो ८० प्रतिशत खेती गर्ने बारीमा झाडी पलाएको बताए। छरछिमेकी बसाइँ सरेर चितवन, गैडाकोट र भैरहवा गएको उनको भनाइ छ। पहिले २० मुरी धान, २२ मुरी मकै र कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले पाँच–सात मुरी उब्जाउन गाह्रो पर्ने शर्माले बताए। पैसा दिएर खनजोत गर्ने खेताला पनि नपाइने उनले बताए।  

‘जुग जमाना फेरिए, हाम्रो पालामा यो गाउँघर कति रमाइलो थियो, वरपरका खेतबारीमा धान, मकै, गहुँ उत्पादन हुन्थ्यो, बाहिरबाट केही पनि ल्याएर खान पर्दैनथ्यो, अहिले त गाउँमा गरी खाने थाले (ठाउँ) भएर पनि काम गर्ने मान्छे पाइँदैनन्,’ उनले भने, ‘हेर्दाहेर्दै मेरो हात पाखुराले दुख गरेर अन्न फलाएको ठाउँ यस्तो झाडीले ढाक्ने भयो, पछि–पछि त अहिले खेती हुने ठाउँ पनि जङ्गलमा परिणत हुन्छन् भन्ने पिर लाग्न थाल्यो।’  

काठेखोला–८ लेखानीका मेघराज कँडेलले पछिल्लो १० वर्षमा गाउँका आधा बढी खेतीयोग्य जमिन बाँझो बनेको सुनाए। पहिले बारीमा उत्पादन गरेको धान बेचेरै वर्षभरि खान लाउन पुग्ने गरेको भन्दै अहिले बारी भएर पनि उत्पादन गर्न नसक्ने उनको भनाइ छ। युवा विदेश जाँदा गाउँमा बुढाबुढी मात्र रहेको भन्दै आफूहरूले काम गर्न नसक्दा खेतीयोग्य जमिन बाँझो बनेको कँडेलले बताए।  

जिल्लामा कुल खेतीयोग्य जमिनको २५.८७ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले जनाएको छ। दुई हजार ८४१ हेक्टर जमिनमा मात्र बाह्रै महिना सिँचाइको सुविधा रहेको छ। रासस

प्रकाशित: २१ भाद्र २०८२ ०७:३० शनिबार