जिल्लामा गत वर्ष भन्दा काठ उत्पादनमा वृद्धि भएको छ । वन कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ६१ हजार क्यूफिट काठ बढी उत्पादन भएको छ ।
डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा दुई लाख ६३ हजार चार सय ५१ दशमलव ५५ क्यूफिट काठ उत्पादन भएको छ । सामुदायिक, राष्ट्रिय र निजी वनबाट दुई लाख ३० हजार एक सय ७७ दशमलव ३१ क्यूफिट काठ उत्पादन हुने लक्ष्य गरिए पनि लक्ष्यभन्दा बढी दुई लाख ६३ हजार चार सय ५१ दशमलव ५५ क्यूफिट काठ उत्पादन भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख दुई हजार चार सय १४ क्यूफिट काठ उत्पादन भएको थियो । डिभिजन वन कार्यालय घोराहीका अनुसार ९९ वटा सामुदायिक वनबाट एक लाख ९९ हजार नौ सय ६८ दशमलव ५८ क्यूफिट, राष्ट्रिय वन (चक्ला) बाट चार हजार एक सय ९८ दशमलव २६ क्यूफिट र निजी वनबाट ५९ हजार दुई सय ८४ दशमलव ९१ क्यूफिट काठ गरेर दुई लाख ६३ हजार चार सय ५१ दशमलव ५५ क्यूफिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी एवं वरिष्ठ वन अधिकृत टेकनप्रसाद आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार उत्पादन भएकोमध्ये ४७ हजार सात सय ४८ दशमलव ४१ क्यूफिट काठ समूहभित्र आन्तरिक खपत, २९ हजार आठ सय १३ दशमलव ८५ क्यूफिट काठ समूह बाहिर बिक्री भएको छ भने एक लाख २२ हजार छ सय ३० दशमलव ५० क्यूफिट काठ बिक्री नभएर विभिन्न सामुदायिक वन समूहमा घाट गद्दी गरेर राखिएका छन् । वनका अनुसार डिभिजन वन कार्यालय घोराहीअन्तर्गत एक वर्षको अवधिमा एक हजार २० दशमलव ९६ क्यूफिट दाउरा उत्पादन भएको छ ।
डिभिजन वन कार्यालय घोराहीले आर्थिक बर्ष २०८१/०८२ मा वन पैदावारबाट चार करोड ६२ लाख ३५ हजार चार सय ५७ रुपैयाँ राजस्व संकलन गरेको छ ।
काठ दाउरा बिक्री गर्दा सामुदायिक वन समूहबाट तीन करोड ३४ लाख दश हजार छ सय २१ रुपैयाँ, सरकारद्वारा व्यवस्थित वनबाट ६९ लाख ४४ हजार एक सय ६९ रुपैयाँ र निजी वनबाट ३३ लाख ४५ हजार एक सय दश रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
उनका अनुसार गैर काष्ठबाट दुई लाख ७३ हजार रुपैयाँ, बेबारिसे काठ दाउरा बिक्री गर्दा १९ लाख ९१ हजार दुई २७ रुपैयाँ र सल्लाको खोटोबाट दुई लाख ७१ हजार तीन सय ३० रुपैयाँ राजस्व संकलन भएको छ । सूचना अधिकारी आचार्यका अनुसार दुई करोड ७८ लाख ३९ हजार पाँच सय ८३ रुपैयाँ राजस्व प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।
काठ दाउरा बिक्रीबाट संकलन भएको पाँच करोड ७४ लाख ७१ हजार एक सय ८० रुपैयाँ र सल्लाको खोटो बिक्रीबाट आम्दानी भएको १८ लाख ३७ हजार छ सय ५७ रुपैयाँ गरी पाँच करोड ९३ लाख आठ हजार आठ सय ३७ रुपैयाँ वन समूहको कोषमा जम्मा भएको छ ।
प्रकाशित: ११ श्रावण २०८२ १८:५८ आइतबार