आज दिउँसो तराई क्षेत्रका केही ठाउँमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। यद्यपी हिजो अनुमान गरिएको भन्दा कम गतिमा हावा चल्ने देखिएको छ।
मधेश, कोशी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरी चल्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूति पोखरेलले अपरान्ह्पछि हावाहुरी चल्ने सम्भावना रहेकाले ति क्षेत्रमा रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्ने बताइन्। उनले यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध गरिन्।
'तर हिजाे हामीले अनुमान गरेकाे भन्दा केही कम हुने देखिएकाे छ।,' उनले भनिन्, 'प्रिमनसुनमा एकैछिनमा माैसमी प्रणाली परिवर्तन हुँदा पूर्वानुमानमा समस्या पनि हुन्छ ।'
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको उनले बताइन्। उनका अनुसार कर्णाली र सुदूरपश्चिमका धेरै, गण्डकी, लुम्बिनी लगायत कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागका केही तथा बागमती , मधेस लगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
प्रिमनसुन चलिरहेकाले बिहान मौसम सफा भएपनि दिउँसोपछि मौसम बदली भइ अपरान्ह्पछि हावाहुरी, चट्याङ र कतै कतै असिना पानी पर्नु स्वभाविक भएको उनको भनाइ छ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभावले विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र केही ठाउँमा असिना पानी पर्न सक्ने विभागले जनाएको छ।
हावाहुरी चलेको बेलामा घरभित्रै सुरक्षित बस्न उनले सुझाव दिइन्। सतर्क हुन तर नआत्तिन वरिष्ठ मौसमविद् पोखरेलले अनुरोध गरेकी छन्।
प्रकाशित: ६ चैत्र २०८२ १३:१२ शुक्रबार