‘सरी नानु, तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउनेछ।’ करिब एक वर्षअघि काठमाडौँका मेयर हुँदा बालेन्द्र शाहले लेखेको यो वाक्य त्यो समयको अन्याय र सम्भावित न्यायको सङ्केत थियो।
समयले घुम्ती लिएको छ। उनी प्रधानमन्त्री बनेको चार दिन नपुग्दै, त्यही प्रकरणकी आरोपित लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा आइतबार राती पक्राउ परेकी छन्।
गत वर्ष, काठमाडौं महानगरपालिकाको टोलीले एक बालिकालाई उद्धार गर्दा बाहिर आएको कथाले समाजलाई झस्काएको थियो। छ वर्षसम्म एउटै घरमा काम गर्दै आएकी ती बालिकाले कुटपिट, श्रम शोषण र बन्दी जस्तै जीवन भोगेको आरोप लगाएकी थिइन्। तर त्यस बेला राज्यले मुद्दा नै नचलाउने निर्णय गर्यो।
त्यसै क्षण, मेयर शाहले लेखेको ‘समय आउनेछ’ भन्ने वाक्य धेरैका लागि आश्वासनभन्दा बढी प्रश्न बनेको थियो, कहिले आउनेछ त्यो समय?
त्यो समय आएको छ। यो घटनाले केवल एक व्यक्तिको गिरफ्तारीभन्दा धेरै कुरा भन्छ। यसले राजनीतिक हैसियत, समय र सत्ताको पहुँचले न्यायको गति कति फरक पार्न सक्छ।अन्तिम सत्य अदालतको फैसला हुनेछ । त्यसैले, ‘समय आएको’ अनुभूति भए पनि, न्याय पूर्ण रूपमा स्थापित हुन बाँकी नै छ।
प्रकाशित: १६ चैत्र २०८२ ०९:१३ सोमबार