कार्यालयको भुक्तानीका लागि रुकुम पूर्व जान हिँडेका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी बुधबार दिउँसोसम्म बाग्लुङको बुर्तिबाङमा रहेको खुलेको छ। तर, उनीहरू दिउँसो २ बजेदेखि बुर्तिबाङबाट पनि पुनः सम्पर्कविहीन भएका छन्।
गाउँपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज धर्तीमगर नेतृत्वको टोली असार २४ गते बिहानदेखि सम्पर्कमा नरहेको भन्दै खोजीका लागि अपिल गरेको थियो। तर, प्रहरी अनुसन्धानबाट उनीहरू रुकुम पूर्व नगई बाग्लुङ पुगेको र त्यहाँबाट पनि सम्पर्कविहीन भएको पाइएको हो।
जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विरेन्द्र विश्वकर्माले उनीहरू बाग्लुङको बुर्तिबाङमा बास बसेको र बुधबार दिउँसो २ बजेसम्म त्यहीँ रहेको जानकारी दिए।
‘उनीहरू बुर्तिबाङको एक होटलमा बसेका थिए, दिउँसो खाना खाएर २ बजेतिर त्यहाँबाट हिँडेको देखिन्छ,’ डीएसपी विश्वकर्माले नागरिकन्युजसँग भने, ‘त्यसपछि कसैले ढोरपाटन जाने भन्दै थिए भन्ने सुनिएको छ, तर सबैको मोबाइल एकैपटक बन्द छ।’
गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार, कर्मचारीहरू कार्यालयको भुक्तानी गर्न आवश्यक ‘ओटीपी कोड’ लिन नेटवर्क भएको ठाउँ रुकुम पूर्व जान्छु भनेर असार २३ को राति निस्किएका थिए।
‘उहाँहरू २४ गतेदेखि सम्पर्कमा हुनुहुन्नथ्यो, हामीले कार्यालयको काममा व्यस्त हुनुभयो होला भन्ने सोच्यौँ,’ अध्यक्ष बुढा मगरले भने, ‘तर आजसम्म पनि सम्पर्क नभएपछि गम्भीर लाग्यो र हामीले प्रशासनलाई खबर गरेर विज्ञप्ति जारी गरेका हौँ।’
रोल्पाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पनि कर्मचारीहरू हराएको नभई कतै गएको हुनसक्ने बताए। उनले भने, ‘प्रहरीमार्फत बुझ्दा उनीहरू बुर्तिबाङमा बसेको र आज त्यहाँबाट हिँडेको भन्ने छ। हामीले बाग्लुङ प्रहरीसँग समन्वय गरिरहेका छौँ।’
भुक्तानीको ‘ओटीपी’ लिन रुकुम जान हिँडेको टोली सीधै बाग्लुङ पुग्नु र त्यहाँबाट पनि सबैले एकैपटक मोबाइल बन्द गरेर सम्पर्कविहीन हुनुले घटना शंकास्पद देखिएको छ।
प्रहरीले यसलाई आन्तरिक विषय हुन सक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको छ।
सम्पर्कविहीन हुने कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज धर्तीमगर, सहायक प्रशासन (पाँचौँ) हरिश माझी, सह-लेखापाल यज्ञ प्रसाद कडेल, सब-इन्जिनियर चन्द्र प्रकाश ओली, सब-इन्जिनियर निशा आचार्य, खा.पा.स.टे. शिव कुमार वली र सवारी चालक प्रदिप के.सी रहेका छन्।

प्रकाशित: २५ असार २०८२ २१:३७ बुधबार



