समाज

पहिरोको जोखिममा मन्दिर, जोगाउन हजारौं हात सक्रिय

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित ऐतिहासिक नीलबाराही मन्दिरलाई पहिरोबाट जोगाउन सुरु भएको जनश्रमदान अभियान ११औँ हप्तामा प्रवेश गरेको छ।

हजारौं स्थानीय र भक्तजनको सहभागितामा शनिबार मन्दिर नजिकैको जोखिमपूर्ण क्षेत्रमा पहिरो रोकथामको काम गरिएको छ।

लामो समयदेखि नगरपालिकाले चासो नदिएपछि स्थानीय युवाको अगुवाइमा सुरु भएको यो अभियानले अहिले विशाल रूप लिएको छ।

शनिबार मात्रै करिब तीन हजार जनाले श्रमदानमा भाग लिएको श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिले जनाएको छ।

अभियानअन्तर्गत पार्किङ क्षेत्रदेखि मन्दिरसम्मको करिब तीन सय मिटर लामो बाटो फराकिलो बनाउने काम लगभग सकिएको छ।

माटो खसालेर फराकिलो बनाइएको बाटोमा अहिले चारपाङ्ग्रे सवारी साधनसमेत पुग्न सक्ने भएको छ। यसअघि यहाँ मोटरसाइकल मात्रै पुग्ने साँघुरो बाटो थियो।

कसरी चल्दैछ अभियान ?

पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको नीलबाराही क्षेत्रको थुम्कोमा रहेको मन्दिर चारैतिरबाट पहिरोको जोखिममा छ।

पहिरो नियन्त्रणका लागि अभियानकर्मीहरूले बोरामा माटो भरेर भिरको फेदमा पर्खाल लगाइरहेका छन्। यसका लागि दैनिक दुई दर्जनभन्दा बढी ट्रकले अन्य स्थानबाट माटो ल्याएर खसाल्ने गरेका छन्।

श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिकी उपाध्यक्ष कृष्णलक्ष्मी श्रेष्ठका अनुसार, सुरुका हप्तामा केही सयमा सीमित जनसहभागिता अहिले हजारौँमा पुगेको छ। ‘मन्दिर छेउमै काम पुगेकाले जनश्रमदानमा आउनेहरूको संख्या झनै बढेको छ,’ उनले भनिन्।

अभियानलाई सफल बनाउन श्रमदान गर्नेहरूलाई पानी, खाजा, काँक्रो, गाजर, बिस्कुट र मोही खुवाउन आउने दाताहरूको पनि उत्तिकै भीड देखिन्छ। कोही भीड व्यवस्थापनमा खटिएका छन् भने कोही ढुंगा बिछ्याउने, पानी निकास बनाउने र तटबन्ध निर्माणमा जुटेका छन्।

समितिका सचिव अनिश वैद्यका अनुसार, शनिबार मात्रै श्रमदान गर्दा भीड अनियन्त्रित हुन थालेपछि अहिले हप्ताको तीन दिन (सोमबार, बुधबार र शनिबार) श्रमदान कार्यक्रम सञ्चालन गरिएको छ।

मध्यपुर थिमि मात्र नभई काठमाडौं उपत्यकाकै नेवार समुदायको आस्थाको केन्द्र मानिने यो ऐतिहासिक सम्पदा जोगाउन स्थानीयहरू आफैँ अग्रसर भएका हुन्। तर, सरोकारवाला नगरपालिकाले भने अझै पनि मन्दिर छेउमा प्लास्टिकले छोपेर पहिरो नियन्त्रणको झारा टार्ने काम मात्र गरिरहेको स्थानीयको गुनासो छ।

प्रकाशित: १० श्रावण २०८२ १९:४५ शनिबार

bhaktapur nil bahari mandir