समाज

बाढीपीडित विद्यार्थीले ११ वर्षपछि पाए विद्यालयको छानो

२०७१ सालको साउनमा आएको बाढीले सुर्खेत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍यायो। ११५ जनाले ज्यान गुमाए। तीन हजार परिवार विस्थापित भएर थातथलो छोड्नुपर्‍यो।

त्यहीँ बाढीमा विस्थापित भएका बराहताल गाउँपालिकाका हरिहरपुर, सिस्नेरी, थापाडेरा लगायतका विस्थापितहरु कर्णाली राजमार्गसँग जोडिएको गिरीघाटमा आएर बस्न थाले।

कर्णाली राजमार्गले छोएकाले सडक सुविधा भएपनि अन्य आधारभूत आवश्यकताका लागि पीडितहरू अहिले पनि सङ्घर्षरत छन्। पीडितहरूले आफ्ना लागि ओत लाग्ने टहरो बनाए पनि आफ्ना नानीबाबुहरू पढ्नका लागि छानो बनाउन सकेका थिएनन्।

रानीघाटतर्फ जाने बाटो छेउमा खुल्ला टहरोमा पढ्नुपर्ने बाध्यता बालबालिकासँग थियो। ‘घाम लाग्दा जस्तापाताले बसिसक्नु हुन्थेन्, पानी पर्दा स्कुल बिदा हुन्थ्यो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीता विकले भनिन्, ‘कमाउन सक्नेहरूले छोराछोरीलाई वीरेन्द्रनगर बजारमा पढाउन पठाउँथे, केही आफ्ना बालबालिका लिएर कमाउन भारत जान्थे।’

डिभिजन वन कार्यालयले वन क्षेत्र भएकाले स्थायी संरचना बनाउन दिँदैनथ्यो। ‘खुल्ला चौरमा आफ्ना बालबालिका पठाउन पनि अभिभावक मान्दैनथे,’ उनले भनिन्, ‘त्यहीँ भएर अधिकांश अभिभावकले आफूसँगै आफ्ना बालबालिकालाई कालापहाड (भारत) लगेर गएका छन्।’

११ वर्षदेखि खुल्ला चौरमा पढ्दै आएका बालबालिकाले बिहीबारदेखि ओत लाग्ने छानो पाएका छन्। बराहताल गाउँपालिकाले ३० लाखको लागतमा चार कोठ भवन बनाएर हस्तान्तरण गरेको छ।

गाउँपालिका अध्यक्ष भीम भण्डारीले २०७१ सालमा विस्थापित भएर गिरीघाटमा बस्दै आएका बाढीपीडितरु फर्केर पुरानै थातथलोमा जाने अवस्था नभएको बताए। ‘भवन नहुँदा बालबालिकाको पढाइमा असर परिरहेको थियो, वनले पक्की संरचना बनाउन नदिने भएकाले ३० लाखको लागतमा प्रिफ्यावको विद्यालय भवन बनाएका छौं,’ उनले भने, ‘यसले बालबालिकालाई पढ्नमा सहज हुनेछ।’

विद्यालयका प्रधानाध्यापक तारा पोखरेलले ११ वर्षपछि बाढीपीडित बालबालिकाले पढ्नका लागि छानो पाएको बताइन्। ‘रानीघाट जाने बाटो छेउमा यतिका वर्ष बालबालिकाहरूले धुलो र पानी सहन पर्‍यो, त्यसको प्रत्यक्ष असर उनीहरूको पढाइमा परिरहेको थियो,’ प्रधानाध्यापक पोखरेलले भनिन्, ‘नयाँ भवन बनेसँगै पढ्न र पढाउन सहज भएको छ।’

भवन नहुँदा दिवा खाजाका लागि राखिएका सामाग्रीहरु चोरी हुने, स्टेशनरी चोरी हुने गरेका घटना उनले सम्झिइन्। ‘अब त्यो समस्या हुनेछैन्,’ उनले भनिन्।

बाल विकासदेखि कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा यो शैक्षिकसत्रमा ४५ जना बालबालिका भर्ना भएका छन्। अघिल्लो शैक्षिकसत्रमा ६० जना बालबालिका विद्यालय भर्ना भएका थिए।

प्रधानाध्यापक पोखरेलका अनुसार बाढीपीडित शिविरका अधिकांश अभिभावकहरू आफ्ना बालबालिकालाई लिएर कालापहाड जान्छन्। ‘यहाँ बालबालिका पढाउनका लागि विद्यालय त थियो, तर भवन थिएन,’ उनले भनिन्, ‘त्यहीँ भएर यहाँका अधिकांश अभिभावक आफूसँगै आफ्ना बालबालिका लिएर जान्छन्।’

प्रकाशित: १ श्रावण २०८२ २०:४५ बिहीबार

#NagarikNews