अविरल वर्षाका कारण सदरमुकाम बेसीसहरस्थित जिल्ला कारागारको पर्खाल भत्किएपछि असुरक्षित बनेका १०८ जना कैदीबन्दीलाई छिमेकी जिल्ला तनहुँ र कास्की स्थानान्तरण गरिएको छ।
स्थानान्तरणको विरोधमा रहेका कैदीबन्दी र प्रशासनबीच ५ बुँदे लिखित सहमति भएपछि उनीहरू अन्यत्र जान तयार भएका हुन्।
कारागारको मुख्य प्रवेशद्वार नजिकैको पर्खाल बुधबार भत्किएपछि थप भौतिक तथा मानवीय क्षति हुन सक्ने भन्दै प्रशासनले कैदीबन्दीलाई अन्यत्र सार्ने निर्णय गरेको थियो।
तर, कैदीबन्दीले जिल्ला नछाड्ने अडान लिएपछि शुक्रबार जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, वडाध्यक्षसहितको टोलीले कैदीबन्दीसँग छलफल गरेको थियो।
लामो छलफलपछि प्रशासनले कैदीबन्दीको सुरक्षा, मानवअधिकार र अन्य माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि स्थानान्तरणको बाटो खुलेको हो।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार ६ महिलासहित ३० जनालाई तनहुँ र ७८ जना पुरुषलाई कास्की कारागारमा पठाइएको छ।
कारागार प्रशासक बेनीबहादुर मोक्तानका अनुसार पुरुष कैदीबन्दीलाई ४ वटा बस र महिलालाई एउटा हाइसमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाबीच गन्तव्यमा पुर्याइएको हो।
प्रशासन र कैदीबन्दीबीच भएको ५ बुँदे सहमतिमा भत्किएको संरचना तत्काल मर्मत गर्ने, मर्मतपछि सबै कैदीबन्दीलाई लमजुङ नै फर्काउने, स्थानान्तरण गरिएका कैदीबन्दीलाई छुट्टै ब्लकमा राख्न पहल गर्ने, उनीहरूको लत्ताकपडा र उनीहरूले उत्पादन गरेका सामग्रीको सुरक्षा र बजार व्यवस्थापन गर्ने तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्ने उल्लेख छ।
२०२८ सालमा निर्मित ३५ जना क्षमताको यो कारागारमा तेब्बरभन्दा बढी कैदीबन्दी राखिँदै आएको थियो। जीर्ण भवन र क्षमताभन्दा बढी कैदीबन्दीका कारण कारागार व्यवस्थापनमा चुनौती थपिँदै आएको थियो।
प्रकाशित: ३ श्रावण २०८२ १५:०६ शनिबार