समाज

उद्धार र राहतमा सरकारसँग सहकार्य गर्ने अग्रगामी मोर्चाको निर्णय

अग्रगामी मोर्चाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ।

मोर्चाको बिहीबार बसेको बैठकले अग्रगामी युवा मोर्चाको नेतृत्वमा आवश्यक जनशक्ति परिचालन गरी उद्धार कार्यमा सहयोग गर्ने निर्णय गरेको मोर्चाका प्रवक्ता डा. सिके राउतले जानकारी दिए।

बैठकले प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री तथा आर्थिक सहयोग संकलन गरी मोर्चाको तर्फबाट एकमुष्ट सरकारलाई हस्तान्तरण गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, घाइतेहरूको उपचारका लागि आवश्यक जनशक्ति तथा उपचार सामग्रीको व्यवस्था गर्न डम्मर रावलको नेतृत्वमा सहयोग समूह गठन गर्ने निर्णय भएको राउतले बताए। उक्त समूहमा मोर्चामा आबद्ध सबै दलबाट एक–एक जना सदस्य रहनेछन्।

मोर्चाले रसुवालगायत बाढीबाट प्रभावित क्षेत्रमा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा पीडितको पुनर्स्थापनामा समेत सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ।

विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन आवश्यक सबै प्रकारको सहयोग मोर्चाका तर्फबाट उपलब्ध गराउने निर्णय भएको प्रवक्ता राउतले बताए।

 

प्रकाशित: ११ भाद्र २०८३ १७:४२ बिहीबार