समाज

स्थानीय उत्पादनमा क्षति र आयातमा प्रतिबन्धले आकाशियो सयपत्रीको मूल्य

तिहारको रौनक सुरु भएसँगै विराटनगरलगायत मोरङका बजारमा सयपत्री फूलको मूल्य अनियन्त्रित रूपमा बढेको छ।

स्थानीय उत्पादनमा वर्षाले क्षति पुर्‍याउनु र सरकारले भारतबाट फूल आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा फूलको चरम अभाव सिर्जना हुँदा मूल्य आकाशिएको हो।

केही साताअघिसम्म प्रतिमाला ४० देखि ५० रुपैयाँमा पाइने सयपत्री अहिले १५० देखि २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। उपभोक्ता र किसान दुवै दोहोरो मारमा परेका छन्।

चाडपर्वको मुखमा सरकारी अनुगमन निकायको निष्क्रियताले व्यापारीहरूले मनपरी मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ।

यस वर्ष फूल फुल्ने बेलामा परेको अविरल वर्षा र बाढीले सयपत्री खेतीमा निर्भर किसानहरूको लगानी र आशा दुवै बगाएको छ।

विराटनगर–६ केसलिया खोला किनारमा विगत १० वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएका किसान रतन जानाले यसपालि आफ्नो लगानीसमेत नउठ्ने अवस्था आएको दुःखेसो पोखे।

“गत वर्षको आम्दानीले उत्साहित भएर यसपालि ७० हजारभन्दा बढी सयपत्रीका बोट रोपेको थिएँ,” जानाले भने, “फूल फुल्ने बेलामै आएको बाढीले सबै बोट गलाएर सखाप पार्‍यो। वर्षाले मेरो फूल मात्र होइन, वर्षभरिको मेहनत र सपना पनि बगायो। करिब ५ लाख रुपैयाँको नोक्सानी भयो।”

उनका अनुसार बचेका थोरै बोटमा पनि राम्रो फूल नलागेकाले बजारमा उचित मूल्य पाउन सकिएको छैन।

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले भारतबाट प्राकृतिक तथा प्लास्टिकका फूलमाला आयातमा प्रतिबन्ध लगाएको थियो।

तर, स्थानीय उत्पादनले माग धान्न नसक्ने अवस्थामा यो नीति प्रत्युत्पादक बनेको छ। बजारको यही अभावको फाइदा उठाउँदै सीमा क्षेत्रबाट तस्करीमार्फत भारतीय फूलहरू अवैध रूपमा भित्रिरहेका छन्।

एक व्यापारीले भने, “सरकारले आयात रोक्नुअघि यहाँको उत्पादनको अवस्था हेर्नुपर्थ्यो। अहिले भन्सारबाट ल्याउन पाइँदैन, चोर बाटोबाट ल्याउँदा प्रहरीले समात्ने डर हुन्छ। ठाउँ-ठाउँमा पैसा खुवाउनुपर्छ। यही जोखिमको मूल्य जोड्दा फूल महँगो भएको हो।”

यद्यपि, विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले सरकारले प्रतिबन्ध लगाएका कुनै पनि वस्तु भन्सार नाकाबाट आयात हुन नदिइएको दाबी गरे।

फूलको अस्वाभाविक मूल्यवृद्धिको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। विराटनगर बजारमा फूल किन्न आएकी सरिता कोइरालाले मूल्य सुनेर आफू चकित परेको बताइन्।

“तिहार भनेकै फूल, बत्ती र देउसीभैलो हो। एउटा सामान्य मालालाई १५० रुपैयाँ तिर्नुपरेपछि कसरी मनाउनु चाड ?” उनले आक्रोश पोखिन्, “सरकारले बजार अनुगमन गर्दैन, व्यापारीले जे भन्यो त्यही तिर्नुपर्ने बाध्यता छ। यस्तो महँगीले त चाडको रौनक नै खोसिदियो।”

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा उपभोक्ताहरू हरेक वर्ष ठगिन बाध्य छन्।

प्रकाशित: ४ कार्तिक २०८२ १८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App