समाज

बालेनलाई देशको चाबी सुम्पेको, ड्राइभर त एम्बुलेन्सको परेछ: सुदन किराती

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि कटाक्ष गर्दै उनलाई ट्राफिक नियम नमान्ने एम्बुलेन्स चालकसँग तुलना गरेका छन्।

इलाम नगरपालिका-५ बरबोटेमा आयोजित पार्टीको जनहातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले अमूल्य मत दिएर देशको चाबी सुम्पे पनि प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले राज्य चलाउन खोजेको आरोप लगाए।

प्रधानमन्त्री बालेन्द्र शाहले नियम-कानुनको धज्जी उडाएको बताउँदै नेता किरातीले भने, ‘नागरिकले देशकै चाबी बालेनको हातमा दिए। तर, ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ। न ट्राफिक लाइट हेर्ने, न अर्काको लेनको ख्याल गर्ने, जहाँ पायो त्यहीँ छिर्ने र जता मन लाग्यो त्यतै पार्किङ गर्ने काम भइरहेको छ।’

सार्वभौम नागरिकले चुनेको नेतृत्वले देशको प्रचलित विधि र कानुनको अनिवार्य पालना गर्नुपर्ने उनले बताए।

पछिल्लो समय प्रधानमन्त्री बालेनले मुस्ताङ र पोखरा भ्रमणका क्रममा समेत ट्राफिक नियम उल्लंघन गरेको भन्दै आलोचना भइरहेको सन्दर्भ उल्लेख गर्दै किरातीले अब देशको बागडोर श्रम संस्कृति पार्टीले सम्हाल्नुपर्ने दाबी गरे।

आउने प्रदेश तथा स्थानीय निर्वाचनमा जनताले यो गाडीको चाबी श्रम संस्कृति पार्टीलाई दिने वातावरण बनाउनुपर्ने भन्दै उनले सरकार शासक नभई जनताको सच्चा सेवक हुनुपर्ने धारणा राखे।

पुरानो राजनीतिक नेतृत्वको अहंकार र आपसी झगडाले देश बर्बाद भएको उदाहरण दिँदै किरातीले आफ्ना पार्टी अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा देशलाई निकास दिन आफू दोस्रो भूमिकामा रहेर निःस्वार्थ काम गर्न तयार रहेको सुनाए।

विगतमा प्रचण्ड-ओली र देउवा-गगनको जस्तो सत्ताको टकराव श्रम संस्कृति पार्टीमा नहुने भन्दै उनले रिस र ईर्ष्याको आत्मघाती बाटोमा पार्टी कहिल्यै नहिँड्ने दृढता व्यक्त गरे।

भारतको गयाका दशरथ माझीले २२ वर्ष लगाएर पहाड फोरेझैँ अठोट र निष्ठाका साथ जनताको सेवामा जुट्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिए।

कार्यक्रममा नेता किरातीले विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका दर्जनौं कार्यकर्तालाई पार्टीमा स्वागत समेत गरेका थिए।

प्रकाशित: ९ भाद्र २०८३ १७:३१ मंगलबार