करिब चार वर्षदेखि भत्केको कमला पुलको अवलोकन भ्रमणमा आउने हरेक मन्त्रीले जनतामा बाँड्दै आएको आवश्वास शुक्रबार मन्त्री कुलमान घिसिङले पनि यस भेगका जनतामा बाँडे। तर, अरू मन्त्री र उनमा फरक थियो–अरू मन्त्रीहरू नदी नाउ(डुङ्गा) चढेर तरेर जनतामाझ आफ्ना विचार साझा गरेका थिएनन्। उनी नाङ्गो खुट्टा कमलाको पानी र बालुवा छिचोलेर यस भेगका जनताको कष्टकर यात्रा अनुभूति गरेका छन्।
कमला पुल निर्माण संघर्ष समितका संयोजक रामरिझन यादवले हौसिँदै भने, ‘यो सरकारको अवधि र म्यान्डेट छोटो र चुनावमुखि भए पनि यस भेगका जनताको कष्ट अनुभूति गर्न आउनु नै महत्वपूर्ण हो। मंसिरमा चुनाव गराउने म्यान्डेटमा गठन भएको यो सरकारका मन्त्रीले आफ्नो कार्यकालमा यो पुल निर्माण गराउन नसकेपनि इमान्दार प्रयासबाट काममा सक्रियता र गुणस्तरीयता गराउन सक्छन्।'
मन्त्री घिसिङ कमलामा करिब दुई घण्टा बिताउँदा जनताको जोखिमपूर्ण नाउ यात्रादेखि जल यात्रासम्मको कष्ट प्रत्यक्ष अनुभूति गरेका थिए। ‘करिब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण नसकिँदा यहाँका नागरिकले खेप्नुपरेको कष्ट र सास्ती प्रत्यक्ष हेरें। यो भन्दा जोखिम र कष्ट अरु के नै हुन सक्छ,' मन्त्री घिसिङले भने, ‘मैले कमला पुलबारे धेरैपटक पढेको र सुखेको थिएँ, मधेसको जीवनरेखा नै रहेछ यो पुल। र, मधेसको जीवनरेखा कमला पुलमा अड्केको छ, मैले सकेजति इफर्ट लगाएर अड्को फुउने प्रयत्न गर्छु, कमला पुलको निर्माण विना यो क्षेत्रको यात्रामात्र अवरुद्ध भएको छैन् समग्र जीवनचक्र नै विथोलिएको अनुभूति भयो।'
मन्त्री घिसिङले विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको र दोषी देखिएकालाई कानुन बमोजिम जिम्मेवार बनाइने बताए।
मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, जेनजी अगुवाहरू सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायत सम्मिलित टोलीले कमला पुलको संयुक्त अनुगमन गरेर पुल निर्माण छिटो सक्ने गरी प्रयास थाल्ने प्रतिबद्धता जनाएर फर्केका छन्।
कमला पुलको कथा
हुलाकी राजमार्गमा द्रुत आवागमनका लागि २०६८ सालमा धनुषा–सिरहाको साझा कमला नदीमा पुल शिलान्यास हुँदा धुनषा सगहाराकी सकिना खातुन पुल भएर नदी तर्न पाइने भयो भनेर खुसी भएकी थिइन्। उनीसँगै यस भेगका ग्रामीणदेखि सहरी क्षेत्रका बासिन्दामा खुसी सञ्चार भयो। राणाकालदेखिको आश्वासन बल्ल पूरा हुने भयो भनेर यस भेगका मानिस रोमाञ्चित भए।
२०६८ सालमा पुलको ठेक्का लागेर काम सुरु भएपछि सकिना पुल निर्बाध बन्नेमा ढुक्क भइन्। तर १२ वर्ष बिताएर निर्माण भएको कमला नदीमा पुल उद्घाटन नहुँदै नदीमा आएको समान्य भेलले भासियो। पुल भासिएपछि सकिनासँगै यस भेगका जनताको आशा निराशामा परिणत भयो।
धनुषा सगहाराकी सकिना खातुनको कमला पुलमाथिबाट हुलाकी राजमार्ग छिचोल्ने सपना पाँच दशकभन्दा अघिदेखिको हो। उनी हुलाकी सडकमा पटकपटक हिँडेकी छन्। तर हुलाकी राजमार्गमा सरर हिँड्ने उनको सपना भने पुलमै अल्झेको छ।
हुलाकी राजमार्गको द्रुत सम्पर्कको माध्यम हो, कमला नदीको पुल। यो पुलले धनुषा र सिरहा जोडिन्छ। यो पुल बनेपछि हुलाकी राजमार्गमा द्रुत आवागमन मात्र हुँदैन, यहाँका जनताको जीवनस्तरसमेत द्रुत गतिमा उकासिन्छ।
यो पुलसँग सिरहा र धनुषाको मात्र नभई सिंगो मधेस प्रदेशको समृद्धि जोडिएको छ। सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल २०७८ असारमा करिबकरिब सम्पन्न भएको थियो। ढिलै भए पनि निर्माण कम्पनीले ८३ प्रतिशत भौतिक प्रगति र ८२ प्रतिशत वित्तीय प्रगति भएर उद्धघाटनको तयारी भइहेकै बेला २०७८ असार १७ गते कमला नदीमा आएको बाढीले पुल भासिएपछि मधेसको जीवनरेखा हुलाकी राजमार्गको सपना सेलाउन पुग्यो।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा ४७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रुपैयाँमा ठेक्कासम्झौता गरेको थियो।
२०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते पुल निर्माण पूरा गर्ने उल्लेख थियो। दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो। तर ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल पूरा हुन सकेन। त्यसपछि पप्पुलाई हटाएर लुम्बिनी जेभीले काम सुरु गरेको थियो। तर, पुल निर्माणको काम हालसम्म सकिएको छैन। पुल निर्माणका सम्झौता अहिले नवौँ म्याद थपको प्रक्रियामा छ।
हुलाकी सडक आयोजना कार्यालय जनकपुरधामका कृष्णकुमार महतो पुल यो अवस्थामा पुग्नुमा आफ्नो दोष नभएको दाबी गर्छन्। मेरो काम पुलको डिजाइन चेक गर्ने होइन उनले भने,‘ म पुलको इन्जिनियर होइन। यो ठेक्का डिजाइन एण्ड बिल्ड अन्तर्गत हो। ठेक्केदार कम्पनीले नै डिजाइन गर्ने र निर्माण गर्ने पुल हो। त्यसैले यो डिजाइन फल्ट भयो भन्न हामी सक्दैनौं। ’ ठेक्का सम्झौतामा उल्लेख प्रावधानअनुसार काम गर्नुपर्ने हो। डिजाइनअनुसार नै काम भएको हो। सिभिल इन्जिनियरिङमा हरेक निर्माण एउटा सोध नै हो। काम गर्दै जाँदा कहिँकतै त्रुटी भएको हुन सक्छ, त्यसमा ठेक्केदार पक्षले नै निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ। त्यही अनुसार काम सुरुवात भएको उनले बताए।
निर्माण कम्पनी लुम्बिनी बिल्डर्स प्रालीका प्रोपराइटर विष्णुप्रसाद शर्माका अनुसार यो पुल भासिएपछि डिजाइन नविकरण भएको छ। जहाँ जे सच्याउनुपर्ने थियो सच्याएर पास भएर काम सुरु भएको छ। इन्सियोरेन्सले चेक गरेर क्षती यकीन गर्न ढिला गरेकोले पुनःनिर्माण कार्य ढिला भएको पुष महिनासम्ममा पुल सुचारु हुने उनले बताए।
कमला पुलको दुरगतिमा सरकार उदासीन
कमला पुल निर्माण संघर्ष समितिका संयोजक रामरिझन भन्छन्, ‘सरकारको मधेस दृष्टिको ज्वलन्त उदाहरण कमलाको यो पुल। सिरहाका पुल भासिएको तीन वर्षभन्दा बढी भइसक्दा पनि पुनर्निर्माणको काम सम्पन्न नहुनुले सरकारको उदासीनता प्रष्ट हुन्छ।' पुलमा अल्झेको मधेसको ‘लाइफ लाइन’ फुकाउन सरकारले देखाइरहेको उदासीनताले यस भेगका जनतामा सरकारप्रति आक्रोश र असन्तोष बढाइरहेको उनको भनाइ छ।’
समृद्धिको सपना कहालीलाग्दो
राणाकालदेखि चर्चामा आएको हुलाकी राजमार्ग पटकपटक शिलान्यास हुँदै सेलाउने गरेको छ। १९०३ सालदेखि २००८ सम्म पटकपटक शिलान्यास भयो। पटकपटक शिलान्यास र निर्माण थालनी भए पनि बीचबीचमा रोकिएको विगत छ। त्यही विगतले अहिलेसम्म पछ्याइरहेको छ।
राणाकालदेखि नै मधेसका जनताको मन जित्ने नारा हो, हुलाकी राजमार्ग र कमला पुल। यही नारालाई २००७, २०४६ सालको परिवर्तनपछि संसदीय र स्थानीय तह निर्वाचनका उम्मेदवारले पनि मजाले भजाए। यो राजमार्गलाई मधेसी जनताको आर्थिक समृद्धिसँग जोडेर बनाइएका चुनावी नारा खुबै बिके। हुलाकी राजमार्गको नाराले मधेसी जनमत आफ्नो पक्षमा पार्न सफल नेता सांसद,मन्त्री, मेयर, अध्यक्ष बने। उनीहरूको जीवनशैली फेरियो तर मधेसी जनताको जीवनस्तर बदलिएन।
पूर्व–पश्चिम हुलाकी सडक ९७५ किमि र उत्तर–दक्षिण जोडिने सहायक सडकसहित एक हजार ७९२ किमि सडक स्तरोन्नति ४७ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेर सुरुवात भयो। तर निर्माणको कामले गति लिन सकेन। जनता धुलाम्मे र हिलाम्मे सडकमा यात्रा गर्न विवश बनिरहे।
कमलादेखि बलान नदीसम्म सिरहाको ३० किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि स्वच्छन्द रोशन महादेव खिम्ती जेभीले ठेक्का लिएको थियो। ११ मिटर चौडा यो हुलाकी राजमार्ग निर्माणका लागि उक्त कम्पनीले २४ डिसेम्बर २०१७ मा सम्झौता गरेको थियो।
एक अर्ब २० करोड २० लाख रुपैयाँमा करिब ३० किमि हुलाकी राजमार्ग निर्माणका लागि तोकिएको समय पार गर्यो। सरकारले २०७८ असार मसान्तसम्म काम पूरा गर्नेगरी फेरि समय थप ग¥यो। तर काम पूरा गर्न नसकेपछि पुनः थपिएको म्यादमा लगभग काम पूरा भएको छ।
हुलाकी सडकको सुरुवातपूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग भनिएको हो। मधेसका जिल्लाहरू जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम ९७५ किमि फैलिएको छ।
यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमिको ३२ वटा सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७९२ किमि पुगेको छ।
समृद्धिको सम्भावना नेपालको कुल क्षेत्रफलको २१ प्रतिशत भूभाग ओगटेको मधेसलाई अन्नको भण्डार भनिन्छ। यहाँको उत्पादनले मुलुकलाई पाल्न सक्ने बताइन्छ। तर मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै खाद्यान्नमा परनिर्भर बनाएको मधेस मामिलाका जानकार बताउँछन्।
नेपालको कुल खेतीयोग्य जमिनको १७.७५ प्रतिशत र खेती गरिएको जमिनको १९.०२ प्रतिशत मधेस प्रदेशमा रहेको छ। यो प्रदेशमा नेपालकै सबैभन्दा बढी सिञ्चित जमिन (२८.६८ प्रतिशत) रहेको देखिन्छ।
देशको कुल क्षेत्रफलको तुलनामा यो प्रदेशमा खेती नभएको जमिन १२.२६ प्रतिशत छ। यहाँको एक तिहाइभन्दा कम जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको तथ्यांकले देखाउँछ। ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहरहरू यसै क्षेत्रमा छ। स्रोतसाधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सूचकांकमा पछाडि परेको अर्थात् गरिब छ।
पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरूसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण भए पनि पुल ओझेलमा पर्दा मधेसको समृद्धि यात्रामा अवरोध खडा भएको छ।
प्रकाशित: ६ मंसिर २०८२ १२:२५ शनिबार