समाज

त्यो रगताम्मे जुत्ताका धनीः अस्पतालको शैयाबाट यसरी सम्झिए जीवन–संघर्ष

.

राष्ट्रिय ट्रमा सेन्टरको एउटा बेडमा खुट्टामा गम्भीर चोट बोकेर पल्टिरहेका छन्, २८ वर्षीय प्रकाश बोहरा। दैलेखको नारायण नगरपालिका–८ का स्थायी बासिन्दा प्रकाशको शारीरिक पीडा कम भएको छैन, तर मंगलबार उनको मुहारमा एउटा अलग चमक देखिन्थ्यो। कारण थियो- उनको विवाहको पाँचौँ वार्षिकोत्सव।

देशमा सुशासन र परिवर्तनको माग गर्दै सडकमा उत्रिएका प्रकाशले प्रहरीको गोली खाए। उनको रगतले लतपतिएको सेतो जुत्ता सडकमा छुट्यो, जुन जेनजी आन्दोलनको ‘आइकन’ बन्यो।

तिनै प्रकाशले अस्पतालको चार पर्खालभित्र, औषधिको गन्ध र पीडाका सुस्केराहरूका बीच आफ्नो जीवन संगिनी राधिकासँगको सहयात्राको पाँच वर्ष पूरा भएको अवसरमा केक काटे।

तस्बिर: अमृत थापा/नागरिक

अस्पतालमै साटियो खुसी

प्रकाश र राधिकाको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि उनीहरूले कहिल्यै ‘एन्निभर्सरी’ मनाउन पाएका थिएनन्। कहिले रोजगारीको दौडधुप त कहिले परदेशको बसाइ।

दुवैजना कहिले कतै, कहिले कतै हुन्थे। ‘बिहे भएको पाँच वर्ष भयो तर अहिलेसम्म हामीले ‘एनिभर्सरी’ मनाउन पाएका थिएनौँ। काम र परिस्थितिले जहिल्यै टाढा बनायो,’ प्रकाशकी श्रीमती राधिका भन्छिन्, ‘तर, आज दुःखको घडीमा भए पनि अस्पतालमै सँगै छौँ, यसरी मनाउन पाउँदा म एकदमै खुसी छु।’

प्रकाशले ह्विलचियर वा बेडको सहारा लिनुपरे पनि मनको उत्साह कम थिएन। उनले १८ महिनाको छोरालाई काखमा राखेर केक काटे। आमा नन्दा बोहराको आँखामा छोराको पीडा देख्दा आँसु थियो भने बुहारी र नातिको खुसी देख्दा चमक पनि।

केक काटिसकेपछि प्रकाशले अस्पतालमा रहेका अन्य घाइते, बिरामी र कुरुवाहरूलाई चकलेट बाँडे। यो दृश्यले ट्रमा सेन्टरको गम्भीर माहोललाई केही क्षणका लागि भए पनि उल्लासमय बनाएको थियो।

तस्बिर: अमृत थापा/नागरिक

भदौ २३ गतेको त्यो भयावह दिन

समयलाई केही पछाडि फर्काएर हेर्दा प्रकाशको यो अवस्थाको पछाडि एउटा भयावह दिन जोडिएको छ। भदौ २३ गते। बिहान ११ बजेतिर प्रकाश साथीभाइसँग माइतीघर मण्डला पुगेका थिए।

हजारौं युवाहरूको भीड देशमा सुशासन, समान अवसर र भ्रष्टाचारमुक्त शासनको माग गर्दै उनको पाइला नयाँ बानेश्वरतर्फ लम्किएको थियो। युवाहरूमा देशप्रेम छचल्किएको थियो। हातमा राष्ट्रिय झण्डा बोकेर उनीहरू सुशासनको लडाइँमा होमिएका थिए।

बानेश्वर पुग्दा स्थिति तनावपूर्ण बन्यो। प्रहरीले अश्रुग्यासको धुवाँले आकाश ढाक्यो। प्रकाश र उनका साथीहरू संसद् भवनको पर्खालनेर पुगेका थिए। केही प्रदर्शनकारीले पर्खाल भत्काउन र फलामे बार तान्न सुरु गरे। प्रकाश पनि त्यही भीडमा मिसिएर बार तान्दै थिए।

एकाएक प्रहरीको बन्दुक आन्दोलनकारीतर्फ सोझियो। गोली खुट्टामा मात्र होइन, छाती र टाउको ताकेरै चलाइएको थियो। ‘मैले फलामे बार तान्दै गर्दा देब्रे खुट्टामा गोली लाग्यो। म लत्रक्कै परें,’ अस्पतालको बेडमा रहेका प्रकाशले त्यो भयानक क्षण सम्झिए।

चार घण्टासम्म चलेको त्यो भिडन्तपछि काठमाडौंका सडकहरू रगतले रंगिएका थिए। सोही दिन १९ जना युवाले ज्यान गुमाए।

अस्पतालहरुको आकस्मिक कक्ष घाइतेले भरियो, बेड अभावले भुइँमै राखेर उपचार गरियो। कतिले एम्बुलेन्समा ल्याउँदा ल्याउँदै प्राण त्यागे। बिहान कलेजको ड्रेसमा निस्किएका विद्यार्थीहरू राष्ट्रिय झन्डा ओढेर सधैँका लागि बिदा भए।

‘आइकनिक जुत्ता’ को कथा

संसद् भवनको गेटमै ढलेका सहिदहरूको रगतको आहालमा एउटा सेतो जुत्ता बेवारिसे अवस्थामा लडिरहेको थियो। त्यो जुत्ता रक्ताम्य थियो।

जेन जी जुत्ता - Bhaktapur Times
तस्बिर: दिनेश गौतम

त्यो दृश्यले आन्दोलनको ऊर्जालाई एकाएक शक्तिमा रूपान्तरण गरिदियो। त्यो जुत्ताले केवल खुट्टा मात्र गुमाएको थिएन, बरु एउटा पुस्ताको सपना, आवाज र साहस बोकेको थियो।

त्यही जुत्ता २८ वर्षीय प्रकाश बोहराको थियो। गोली लागेपछि साथीहरूले प्रकाशलाई एम्बुलेन्समा चढाएका थिए। ‘मेरो खुट्टा लत्रिरहेको थियो। एम्बुलेन्समा हाल्ने बेला कसैले जुत्ता खोल्दे भनेको सुनेको थिएँ। खुट्टाबाट कसैले जुत्ता खोलिदिएको पनि सम्झना छ,’ प्रकाशले सुनाए।

दाहिने खुट्टाको जुत्ता भने ट्रमा सेन्टर ल्याएपछि स्वास्थ्यकर्मीले खोलिदिएका थिए। आइसियूमा उपचाररत रहँदा प्रकाशले रक्ताम्य जुत्ताको फोटो भाइरल भएको सुनेका थिए। तर, त्यो आफ्नै हो भन्ने उनलाई थाहा थिएन। आन्दोलनपछिको नवौँ दिन, उनका साला नाता पर्नेले मोबाइलमा फोटो देखाउँदै जुत्ता भाइरल भएको खबर सुनाएका थिए।

आज त्यो जुत्ता जेन–जी विद्रोहको ‘आइकन’ बनेको छ।

प्रकाशको जीवनमा जहिल्यै ‘ग्रहण’

प्रकाशको जीवन आफैँमा एउटा संघर्षको दस्तावेज हो। २०७३ सालमा हेल्थ असिस्टेन्ट (एचए) पास गरेपछि उनी लोक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका थिए। सरकारी जागिर खाने सपना पूरा नभएपछि उनले केही समय विभिन्न परियोजना र दैलेख कारागारको स्वास्थ्य शाखामा काम गरे।

तर, घरको सानो पसल र सामान्य खेतीपातीले परिवारको खर्च धान्न मुस्किल थियो। २०७२ को भूकम्पले भत्काएको घर बनाउँदा लागेको ऋणको भारी बढ्दै थियो। स्वदेशमा कुनै उपाय नदेखेपछि उनी विदेशिने निर्णयमा पुगे। रुस–युक्रेन युद्ध चलिरहेका बेला साथीभाइको लहलहै र बाध्यताले उनी दुई वर्षअघि रुसी सेनामा भर्ती भए।

युक्रेनविरुद्धको लडाइँमा उनी दोनेत्स्कसम्म पुगे। मृत्युलाई नजिकबाट देखे। ‘लड्दा बाँचेर आएँ, तर आफ्नै देशको हितका लागि, सुशासनका लागि सडकमा ओर्लिंदा आफ्नै प्रहरीको गोली खाएँ’, प्रकाशले भने।

रुसबाट फर्किएपछि उनी कतारमा जाने योजना बुन्दै थिए। त्यसैको प्रक्रियाका लागि दुई महिनाअघि काठमाडौं आएका थिए। तर, देशको बेरोजगारी र बेथितिले उनलाई चुप बस्न दिएन। उनी आन्दोलनमा होमिए।

प्रकाशको खुट्टामा लागेको गोलीको घाउ निको हुन समय लाग्ला, तर उनको मनमा लागेको देशप्रतिको चिन्ता र परिवर्तनको हुटहुटी अझै ताजा छ। आन्दोलनमा गोली लागे पनि उनलाई केही गुमाएझैँ लागेको छैन। बरु, आफूले बगाएको रगतले देशमा परिवर्तनको नयाँ आशा जगाएको उनी बताउँछन्।

प्रकाशले सरकार, राजनीतिक दल र नेतृत्वप्रति पनि आक्रोश पोखे। उनले अहिलेको सरकारलाई आफूहरूको बलिदानको जगमा बनेको तर आफ्नै मागप्रति उदासीन रहेको सुनाए।

अस्पतालको बेडबाटै बोल्दै प्रकाशले प्रधानमन्त्री, गृहमन्त्री र आन्दोलनका क्रममा उदाएका राजनीतिक पात्रहरूबारे धारणा राखेका थिए। उनले सरकारले आन्दोलनलाई वैधानिकता नदिएको, माग पूरा नगरेको र मूल मुद्दाबाट भड्काउन खोजेको बताए।

‘हामीले पठाएको सरकारले हामीलाई नै चिनेन’

प्रकाशले पनि वर्तमान सरकारलाई जेन-जी आन्दोलनको उपज मानेका छन्। उनले भने, ‘यो सरकार हाम्रो रगतको आहालमा बनेको हो। हामीले नै एकजना व्यक्ति (तत्कालीन प्रधानमन्त्री) हटाएर अर्कोलाई जिम्मेवारी दिएर पठाएका थियौँ। तर, अहिले उहाँहरूले हाम्रो म्यान्डेट बिर्सिनुभएको छ।’

उनले प्रधानमन्त्रीसँग अहिलेसम्म भेट नभएकोमा दुखेसो पोखे। ‘म १४ दिन आईसीयूमा बसेर एचडीयुमा सरेपछि पनि प्रधानमन्त्रीज्यूसँग मेरो भेट भएको छैन। गृहमन्त्री र स्वास्थ्यमन्त्री आउनुभयो, तर उहाँहरूले पनि ठोस जवाफ दिनुभएको छैन,’ प्रकाशले भने।

उनले थपे, ‘हाम्रो आन्दोलन ९० दिन पुग्न लाग्यो तर सरकारले यसलाई वैधानिकतासमेत दिएको छैन। प्रक्रियामै छ भन्दै टार्ने काम मात्र भइरहेको छ।’

उनले गृहमन्त्रीसँगको भेटमा पनि सीधा कुरा राखेको सुनाए। ‘मैले गृहमन्त्रीज्यूलाई स्पष्ट भनेको छु– हजुरहरूलाई कुन संयन्त्रले अन्धो बनाएको छ ? यत्रो जना मान्छे मरे, यति धेरै घाइते भयौँ, तैपनि सरकार किन मौन छ ?’ प्रकाशले प्रश्न गरेका थिए।

उनले सरकारले आन्दोलनको समयमा गोली चलाउने आदेश दिनेहरूलाई कारबाही नगरेकोमा पनि आपत्ति जनाए। ‘हजारौं राउन्ड गोली कसले चलायो ? त्यो बेला सरकार चलाउने को थियो ? आदेश दिने को थियो ? त्यसको जवाफ खोई ?’ उनको प्रश्न थियो।

‘हामीले खोजेको चुनाव होइन, जवाफ हो’

प्रकाशले आफुहरुको आन्दोलन चुनाव गराउनका लागि नभएको बताए। ‘चुनाव त ८४ मा हुने नै थियो। त्यसको लागि अन्दोलन गरेका होइनौं’ उनले भने, ‘हामीले खोजेको चुनाव हुँदै होइन। हामीले त ५ वर्षको स्थिर सरकार र सुशासन खोजेका थियौँ। देशको अर्थतन्त्र बलियो होस्, यहीँ रोजगारी होस्, विदेश जान नपरोस् भन्ने हाम्रो सामान्य माग थियो।’

उनले अहिलेको चुनावलाई जेन-जीको मागसँग जोडेर हेर्न नमिल्ने बताए। ‘हाम्रो म्यान्डेटअनुसारको चुनाव यो हुँदै होइन। सरकारले आफ्नो स्वार्थका लागि चुनाव गराउन खोजेको जस्तो देखिन्छ। हामीले खोजेको त जवाफ हो, न्याय हो,’ प्रकाशले भने।

उनले चुनावबाट आउने सरकार पनि आफूहरूको पक्षमा हुन्छ भन्नेमा रत्तिभर विश्वास नभएको बताए। ‘अहिलेको सरकार त हाम्रो पक्षमा छैन भने चुनावबाट आउनेले के गर्ला र ?’ उनले निराशा व्यक्त गरे।

सुदन र मिराज सम्पर्कविहीन

कुराकानीमा प्रकाशले आन्दोलनका क्रममा चर्चामा आएका पात्रहरू सुदन गुरुङ र मिराज ढुंगानाबारे पनि बोले। उनले सुदन गुरुङसँग आफ्नो दुईपटक मात्र भेट भएको सुनाए।

‘सुदन गुरुङ हस्पिटलमा दुईपटक आउनुभएको थियो। उहाँ सुरुसुरुमा आउनुभयो, तर पछि हराउनुभयो। अहिले उहाँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ मलाई थाहा छैन,’ प्रकाशले भने।

उनले भेट्दा सामान्य कुराकानी भए पनि गहिरो चिनजान नभएको बताए। ‘हामी एकसाथ जानुपर्छ, सरकार ढलिसकेको छ, अब आत्तिनु हुँदैन भन्ने जस्ता सामान्य कुरा भएका थिए। उहाँसँग मेरो फोटोहरू पनि छन्, तर अहिले सम्पर्क छैन,’ प्रकाशले प्रस्ट पारे।

त्यस्तै, मिराज ढुंगानासँग एकपटक मात्र भेट भएको र उनले पार्टी खोल्न लागेको हल्ला सुनेको प्रकाशले बताए। ‘मिराज ढुंगानासँग एकपटक भेट भयो। उहाँले पार्टी खोल्दै हुनुहुन्छ भन्ने सुनेको छु, तर उहाँहरूको योजना के हो मलाई थाहा छैन,’ प्रकाशले भने।

प्रकाशले जेन-जी आन्दोलनको शक्ति विभाजन भएकोमा गहिरो चिन्ता व्यक्त गरे। उनले भने, ‘हामी सडकमा उत्रिँदा एउटै टोली थियौँ। त्यहाँ न राजावादीको टोली थियो, न एमालेको, न कांग्रेसको। सबै एउटै उद्देश्यका लागि आएका थियौँ। तर अहिले जेनजीको टोली ५०–५२ वटा समूहमा बाँडिएको सुन्दा मलाई अचम्म लागेको छ।’

उनले गृहमन्त्रीसँगको भेटमा आफूले २२–२५ वटा टोलीले ज्ञापनपत्र बुझाएको सोचेकोमा ५२ वटा टोलीले बुझाएको सुन्दा छक्क परेको बताए। ‘यति धेरै ठाउँमा विभाजन हुँदा हाम्रो आन्दोलन कमजोर हुन्छ। साथीहरूलाई मेरो अनुरोध छ- यसरी नफुटौँ, हाम्रो माग एउटै हो, बाटो एउटै हो,’ प्रकाशले आग्रह गरे।

उनले केही साथीहरूले पार्टी खोलेको र वैकल्पिक शक्तिको कुरा गरेको सुने पनि त्यो अहिलेको आवश्यकता नभएको बताए। ‘परिवर्तनको सुरुवात गर्नुभएको छ, ठिक छ। तर अहिले नै पार्टी खोलेर चुनावमा जाने कुरा अलि हतारो हो कि जस्तो लाग्छ,’ उनले भने।

‘हामीले खोजेको न्याय हो, जवाफ हो। सरकारले प्रक्रिया मिलाउँदै छौं भन्छ, तर ९० दिनसम्म केही भएको छैन,’ उनले सुनाए।

‘हामी अझै आशावादी छौँ’

सरकारप्रति यति धेरै गुनासो र आक्रोश हुँदाहुँदै पनि प्रकाशले आफूहरू अझै आशावादी रहेको बताए। ‘हामी यो सरकारप्रति रुष्ट छौँ, तर आशा मारेका छैनौँ। किनकि यो सरकार हाम्रै कारणले बनेको हो। अझै पनि केही गर्नुहुन्छ कि भन्ने आशा छ,’ प्रकाशले भने।

उनले प्रधानमन्त्रीलाई न्यायको विज्ञ भएकाले केही न केही निकास दिने विश्वास व्यक्त गरे। ‘गृहमन्त्रीज्यूले पनि हुन्छ भन्नुहुन्छ, टाउको हल्लाउनुहुन्छ। कहिले हुन्छ थाहा छैन, तर हुन्छ भन्ने आसमा छौँ,’ उनले भने।

प्रकाशले आफ्नो उपचार र स्वास्थ्य अवस्थाबारे बोल्दै सरकारले उपचार खर्च ब्यहोरिरहेको भए पनि दीर्घकालीन पुनर्स्थापनाको चिन्ता रहेको बताए। ‘मेरो खुट्टाको हड्डी भाँचिएको छ, नसा ड्यामेज भएको छ। अझै ३ वटा अप्रेसन बाँकी छ। म पूर्ण रूपमा निको हुन अझै समय लाग्छ। मेरो भविष्य के हुन्छ भन्ने चिन्ता त छँदै छ,’ उनले भावुक हुँदै भने।

‘प्रधानमन्त्रीमा नयाँ अनुहार देख्न चाहन्छु’

अस्पतालको बेडबाटै उनले आफूले बगाएको रगत खेर नजाओस् भन्ने कामना गर्दै अबको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने बताए। आगामी निर्वाचनमा नयाँ पुस्ता जितेर प्रधानमन्त्री पनि नयाँ अनुहारबाटै बनेको अवस्थामा आफू खुसी हुने उनले सुनाए।  

प्रकाशले जेन-जी आन्दोलनको मर्मलाई नमारेर सहिदहरूको रगतको सम्मान गर्दै अघि बढ्ने नयाँ सरकार देख्न चाहेका छन्। ‘हामी घाइते भएर अस्पतालमा छौँ, कोही मरेर गए। तर हाम्रो मुद्दा मरेको छैन,’ उनले भने, ‘नयाँ आउने सरकारले त्यसमा ध्यान दिनुपर्छ। नभए फेरि अर्को आन्दोलन नहोला भन्न सकिन्न।’

हाल उनको स्वास्थ क्रमशः सुधार हुँदै गएको छ। उनी छिटै निको भएर घर फर्केनेमा आशावादी छन्।

प्रकाशित: १७ मंसिर २०८२ १८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App