दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन्। यात्रुको आवागमन बढेसँगै उपत्यका भित्रिने प्रमुख नाका तथा सडकखण्डमा सवारीसाधनको चाप बढ्न थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको छ। दशैं मनाएर घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै यी सडकखण्डमा आवागमन व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको हो।
यात्रुको चाप दिनहुँ बढ्न थालेपछि ट्राफिक प्रहरीले आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रमुख सडक तथा नाकाहरूमा निगरानी बढाएको जनाएको छ।
उपत्यकाका प्रमुख नाकाहरूमा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
यस वर्ष दशैं मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए। दशैं सकिएसँगै उनीहरू उपत्यका फर्किने क्रम बढेको छ।
प्रकाशित: ७ कार्तिक २०८३ २१:५१ शनिबार



