समाज

जलेश्वर अस्पतालका स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो तीन दिने स्पष्टीकरण

मधेस प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मीलाई स्पष्टीकरण माग गरेको छ। 

मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशले अस्पतालका मेडिकल अधिकृत डा. शिखा अधिकारी र डा. सद्रे आलम तथा स्टाफ नर्स मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।  

सेवाग्राहीले उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको र स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो।  

मुख्यमन्त्री सतिश कुमार सिंहलाई महोत्तरीस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाले प्रादेशिक अस्पताल जलेश्वरमा उपचार सेवा नपाएर जनता अकालमा ज्यान गुमाउन बाध्य भएको व्यहोरा दर्शाउँदै मंगलबार ज्ञापनपत्र बुझाएका थिए। मुख्यमन्त्री सिंहले तत्काल छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका थिए। स्पष्टीकरण मागिएकामाथि सेवाग्राहीलाई स्वास्थ्य सेवा नदिएको, आचारसंहिता पालना नगरेको र कार्यसम्पादनमा लापरबाही गरेको आरोप लागेको छ।  

पत्रमा भनिएको छ, ‘३ दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले कारबाही अघि बढाउनेछ।’ प्रदेश निजामति सेवा ऐनको दफा ८६ को उपदफा १ को खण्ड घ अनुसार कर्मचारीले आचरणसम्बन्धी कुरा पालना नगरे वा उल्लंघन गरेमा र खण्ड ‘च’ अनुसार सेवाप्रवाहमा जानाजान लापरबाही वा ढिलासुस्तीले सेवाग्राहीलाई हानि भएको व्यहोरा प्रारम्भिक सोधपुछ र स्थलगत अनुगमनबाट देखिएकाले स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले सेवाप्रवाहमा लापरबाही गर्नेलाई मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने बताए। पदअनुसार कार्यक्षमता नदेखाउने, सेवाप्रवाहमा लापरबाही गर्ने प्रदेश सरकार मातहतका कुनै पनि निकायमा कार्यरत कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०८२ १७:३४ बुधबार