समाज

बन्देज अटेरी गरी माथिल्लो डोल्पा पुगेर हिउँमा फसे ६ भारतीय, हेलिकोप्टरबाट उद्धार थालियो

फाइल।

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित दानीगढमा भारी हिमपातका कारण अलपत्र परेका ६ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार कार्य थालिएको छ।

शे-फोक्सुण्डो तालको अवलोकन सकेर माथिल्लो डोल्पातर्फ लागेका ती पर्यटक केही दिनयता परेको भारी हिमपातका कारण बाटोमै फसेका हुन्।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन्।

प्रजिअ ढकालले भने, ‘अहिले नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको पहल भइरहेको छ। पर्यटकहरू फसेको ठाउँमा नेटवर्क नभएका कारण फोन सम्पर्क हुन नसके पनि उनीहरू शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सम्पर्कमा छन्।’

मौसम प्रतिकूल बनेपछि स्थानीय प्रशासनले यही कात्तिक १२ गतेदेखि नै माथिल्लो डोल्पामा पदयात्रीलाई जान रोक लगाएको थियो। तर, प्रशासनको आग्रहलाई अटेरी गर्दै उनीहरू जोखिमपूर्ण यात्रामा निस्किएका थिए।

प्रमुख जिल्ला अधिकारी ढकालले मौसम प्रतिकूलताका कारण सिर्जना हुन सक्ने जोखिमबाट सजग, सतर्क र सुरक्षित रहन सबैमा अनुरोध गरेका छन्।

प्रकाशित: १५ कार्तिक २०८३ १६:१७ आइतबार