समाज

कटिया मासुको जादु

खानपान

पूर्वपश्चिम राजमार्गको चन्द्रनिगारपुर पुगेर २२ किलोमिटर दक्षिण लागेपछि गरुडाको झाझपुल आउँछ। त्यहाँबाट करिब ११ किलोमिटर पश्चिम लागेपछि आउँछ ‘कटहरिया’ बजार। त्यही बजारको बिचमा छ -विजय मिट हाउस।

करिब चार दशकअघि हिरालाल साह सोनारले खसीको मासु माटोको भाँडोमा राखेर कोइलाको मन्द आँचमा घण्टौं पकाएर तयार पारेको कटिया स्वाद पस्कन्थे । उनको मृत्युपछि छोरा विजय साहले कटिया मासुको स्वादले पारखीको मन जितिरहेका छन्।

यो कटियाको स्वाद मधेस अर्थात् रौतहट आसपास आएकाका लागि नयाँ होइन। हिरालालले सुरु गर्दा यसको स्वाद धेरैको जिब्रोले पाइसकेको थिएन। उनी आफैंलाई पनि थाहा थिएन, कटहरियाबाट सुरु भएको यो स्वादले लोकप्रिय छाप बनाउँछ भनेर तर कटहरियाको विजय होटलबाट सुरु भएको कटियाको स्वादले पारखीलाई लोभ्याउन थालेपछि अहिले यो सहरले कटियाका रूपका प्रसिद्धि पाएको छ।

यहाँको कटियाको स्वादको राज भनेको उनले प्रयोग गर्ने घरेलु मसला र स्थानीय खसी भएको विजय बताउँछन्। खसीमा पनि उनले १२ किलोभन्दा माथि तौलको खसी मात्र किन्छन्। कारण कलिलो खसीले त्यो स्वाद दिँदैन, जुन अलिक वयस्क खसीको मासुले दिन्छ।

चार दशकअघि हिरालालले कटहरिया बजारको सानो छाप्रोमा होटल सुरु गरे। दैनिक खाजाका अलावा उनी चुल्होमा मधुरो आँचमा गुजगुज पकाएको मासु बेच्थे। एक दिन उनी आफैं खानका लागि माटोको कटियामा मासु पकाउँछन्। त्यो मासुको स्वाद चाखेपछि हिरालालको दिमागमा जुक्ति फु¥यो -यो परिकार ग्राहकलाई पस्किनुपर्छ।

‘कटियामा पकाएको मासुको स्वाद ग्राहकहरूले मन पराएपछि बुबाले यसलाई निरन्तरता दिनुभयो,’ विजयले भने, ‘त्यसपछि त कटियाको स्वादको जादु नै चल्यो।’

कटिया मासुले धेरैलाई लोभ्याउँदै गयो। आगोको भुंग्रोमा माटोको कटियामा पकाएको मासुको स्वाद बेजोड भन्दै ग्राहक ओइरिन थाले।

ससाना लोटा आकारमा माटोका भाँडालाई कटिया भनिन्छ। स्थानीय बज्जिका भाषामा कटियाको अर्थ माटोको ‘सानो घैंटो’ अर्थात् कहिया हुन्छ। यही कहिया समयक्रममा बोलीचालीको भाषामा कटिया बन्न पुग्यो।

विजयका अनुसार कटिया प्रख्यात हुन केही वर्ष लाग्यो। उनले भने कटियाको मासुको चर्चा छरछिमेकका बजारमा पनि हुन थाल्यो। ‘माटोको भाँडोमा पकाइने मासुको स्वादबारे यहाँ आउने पारखीहरूबाट प्रचारप्रसार भएको हो,’ उनले भने, ‘उसै बेलादेखि यसको माग र बिक्री निकै बढेको छ।’

उनका अनुसार पछिल्लो दुई दशकयता कटियाका पारखीको संख्या बढिरहेको छ।

‘कटहरियाको कटिया अहिले बाहिर पनि उत्तिकै प्रख्यात छ,’ उनले भने, ‘जिल्लाभरि कटिया खाने र बनाउने पसलको संख्या पनि थपिइरहेका छन्।’

बाबुले सुरु गरेको पदचाप पछ्याउँदै स्वादको व्यापारमा तल्लीन विजयलाई कहिल्यै फुर्सद हुन्न। बिहान ७ नबज्दै पसल खोलेर उनी कोइला तयार पार्छन्। मासु किन्न नजिकैको बजार जान्छन्। मासु छानेर टुक्रा पार्दापार्दै बिहान बितिसक्छ। सुरुवाती दिनमा दैनिक पाँच वटा भाँडामा कटिया बेच्ने उनी हिजोआज दैनिक ४० देखि ५० भाँडासम्म कटिया बेच्छन्। उनले सुनाए, ‘माटोको भाँडोमा पाक्ने भनेर यसै पनि मानिसको रुचि छ, कहिल्यै नखाएकाहरू कस्तो स्वाद होला भनेर अचम्म मान्दै खान्छन्।’

विजय अहिले दिनमा औसत १५ किलोभन्दा धेरै मासुको कटिया बिक्री गर्छन्। उनी एक दिनमा एक सय किलोसम्म कटिया मासु बेचेको अनुभव सुनाए।

कटहरियाको मौलिक कटिया स्वाद

बरमझियाको पेडा, पालुङको मुला, भक्तपुरको दही अनि कलैयाको सेकुवाजस्तै रौतहटको कटियाले स्वादको दुनियामा लोकप्रिय पहिचान बनाएको छ।

पारम्परिक तरिकासँगै स्थानीय स्वाद समेटेर कोहियाभित्र खसीको मासु, प्याज र सबै खडा मसला (गोटा मसला) मिसाएर माटोकै ढकनीले छोपेर कोइलाको मधुर आँचमा यो परिकार पकाइन्छ। कोइलाको आँचमा  मासुले भरिएको कटिया पक्न थालेपछि वरपर सुगन्ध फैलिन्छ।

मासु पारखीहरू भने कटिया खानकै लागि पछिल्लो समय रौतहट धाउन थालेका छन्। वीरगन्जदेखि जनकपुरसम्मका मानिस कटहरियामा कटिया खानकै लागि आइरहेको तर गरुडामा कटियाको कारोबार सुरु भएपछि भने कटहरियामा यो क्रम केही घटेको कटियामा पहिलोपटक मासु पकाउने कटहरियाका अर्का कटिया सञ्चालक कामेश्वर साहले सुनाए। बाहिरबाट आउनेले आफूले खाने र प्याक गरेर घरका सदस्य तथा आफन्तका लागि लैजाने चलन बढेकाले यसको दिन प्रतिदिन प्रसार भइरहेको उनी बताउँछन्।

गरुडामा भने कटियाको व्यवसाय कटहरियाभन्दा निकै फस्टाएको छ। यहाँका लगभग एक दर्जन होटलबाट दैनिक सरदर तीन सय कटिया बिक्री गर्छन्। कटियाका लागि दैनिक तीन सय किलोभन्दा बढी मासु खपत हुने मासु व्यापारीहरू बताउँछन्।

खानाको क्षेत्रमा जिल्लाको पहिचानको रूपमा कटिया स्थापित हुन लागेकाले बाहिरका परपाहुनालाई सजिलोसँग स्वागत गर्ने माध्यम बनेको उद्योग वाणिज्य संघ रौतहटका कोषाध्यक्ष धर्मनाथप्रसाद जयसवाल बताउँछन्। मासुको नयाँ परिकार र नयाँ स्वाद लिन चाहनेका लागि कटहरिया र गरुडा नयाँ गन्तव्य बन्दै गएको जयसवालको कथन छ।

समूहमा मिलेर खाजा तथा खाना खानेको पहिलो रोजाइ नै कटिया हुने गरेको छ। साथीभाइलाई होटलमा कटियाको स्वादले स्वागत गर्ने संस्कृतिको विकास भइरहेको छ। यसैले कटियाको माग र व्यापारमा निरन्तर वृद्धि भइरहेको छ।

एकपटक रौतहट आएर सरुवा भई गएका कर्मचारीले पनि कटियाको स्वादको चर्चा साथीभाइसँग साझा गर्छन्। जसले कोसेलीका रूपमा कटियाबाहिर जाने क्रम सुरु भएको छ।  अहिले रौतहटमा कटियाले स्वाद पर्यटनको विकास गरेको स्थानीय पत्रकार सञ्जय मिश्र बताउँछन्।

माटोको भाँडोमा पकाइने मासुको विशेष परिकार कटिया काठमाडौं, पोखरा, विराटनगर, बुटवल र भारत, विहारको राजधानी पटनासम्म पुगिरहेको गरुडामा कटिया पसल सञ्चालन गरेका सुदामा साहले बताए। ‘यसले मासु व्यवसायी, होटल सञ्चालक र माटोको भाँडो बनाउने कुमालेलाई समेतले रोजगार पाएका छन्,’ उनले भने।

एक वर्षमा तीसदेखि पचास हजार कटियाको भाँडोको माग स्थानीय कुमालेले पूर्ति गरिरहेको उनले बताए।

कटहरियाका विजय साहको कटिया त कत्तार, मलेसियादेखि दुवईसम्म पुगिसकेको उनले बताए। ‘यहाँबाट चिसो मौसममा प्याक गरेर पठाउँछौं,’ उनले भने, ‘त्यहाँ पनि यहाँको कटिया फेमस भइसकेको छ।’

कटहरिया बजारमा एक किलो खसीको मासुलाई एक हजार रुपैयाँ पर्छ। एक किलोबाट तीन वटा कटिया पाक्छ, माटोको भाँडालाई २० रुपैयाँ पर्छ। एक पटक पकाइसकेको माटोको भाँडामा अर्को पटक पकाउन मिल्दैन। यो सबै मूल्यसहित जोडेर उनले पाँच सय ५० रुपैयाँमा एउटा कटिया बेच्छन्। उनकै भनाइमा एउटा कटिया बेच्दा सालाखाला सय रुपैयाँजति फाइदा हुन्छ।

कसरी बन्छ कटिया?

माटोको विशेष खालको भाँडोमा (कटिया) पकाइने खसीको मासुलाई कटिया भनिन्छ। प्याज, जिरा, अदुवा, सुकेका खुर्सानी, मरिच, बेसार, लोकल लसुन, मसला र खसीको मासु माटोको भाँडोमा हालेर करिब एक घन्टा कोइलाको मधुर आँचमा बाँसको केस्राले बिच बिचमा चलाउँदै पकाएपछि कटिया तयार हुन्छ।

यसका लागि खसीको मासु, जिरा, धनियाँ, ल्वाङ, सुकमेल, तेजपत्ता, स्टारफूल, दालचिनी, ठुलो इलाइची, मरिचका दाना, प्याज, लसुन, नुन र बेसार चाहिन्छ।

बलिरहेको कोइलाको आगोमा माटोको भाँडो (कटिया ) बसालिन्छ। एक घान कटियाका लागि ५० ग्रामजति तेल हालिन्छ। यसअघि मसला, नुन, बेसार र खुर्सानी हालिन्छ। यी सबै मसला नपिसीकन अर्थात् खडा मसला हालिन्छ। अब मासु र प्याज राखिन्छ। आगोमा करिब एक घण्टा पकाइन्छ। बिच बिचमा मासुलाई चलाइन्छ। माटोको प्यालाले छोपिन्छ। यसरी तयार हुन्छ मटन कटिया।  

प्रकाशित: २६ पुस २०८२ १२:०० शनिबार