रसुवागढी नाकाभन्दा करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव थुनिएर ०.११ वर्गकिलोमिटर क्षेत्रफलको नयाँ ताल बनेको स्याटेलाइट तस्बिरले पुष्टि गरेको छ।
उक्त तालको प्राकृतिक बाँध फुटेर तल्लो तटीय क्षेत्रमा फेरि ठूलो बाढी आउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताको चेतावनी दिएको छ।
प्राधिकरणका अनुसार बिहीबार बिहान ११:४४ बजे प्राप्त प्लानेट ल्याब्स र ल्यान्डस को भू-उपग्रह तस्बिरहरूको प्रारम्भिक विश्लेषणबाट नदी थुनिएर ताल बनेको देखिएको हो।
यो अध्ययन स्टिम्सन सेन्टरको स्याटेलाइट तस्बिर सौजन्यमा गरिएको प्राधिकरणले जनाएको छ।
प्राकृतिक पहिरोले नदी थुनेर बनेको उक्त बाँध कमजोर रहेकाले जुनसुकै बेला फुटेर भोटेकोशी र त्रिशूली नदीमा पुनः भयानक बाढी आउन सक्ने जोखिम कायमै रहेको छ।
प्राधिकरणले भोटेकोशी तथा त्रिशूलीको तल्लो तटीय क्षेत्रका सम्पूर्ण बासिन्दा, यात्रु र फिल्डमा खटिएका उद्धारकर्मीहरूलाई उच्च सावधानी अपनाउन र तत्काल नदी किनार छाडेर सुरक्षित स्थानमा बस्न हार्दिक अनुरोध गरेको छ।
प्रकाशित: ११ भाद्र २०८३ १८:३० बिहीबार