समाज

छोचेन खोला–पुरेपु साङ्पो दोभान थुनिएर बन्यो ताल, फुट्ने जोखिम, थप सतर्कता आवश्यक

तस्बिर : सिन्ह्वा समाचार एजेन्सी ।

चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै ठूलो ताल बनेको जानकारी दिएको छ।  

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी भरिएर बाहिर बग्नसमेत थालेको अनुमान गरिएको छ।

चीनको ग्लोबल टाइम्सले चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी थपिने अपेक्षा गरिएको छ। यससँगै ताल फुट्ने जोखिम उच्च रहेको भन्दै चाइना सेन्ट्रल टेलिभिजन (CCTV)ले बिहीबार जनाएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको विकासक्रमलाई निरन्तर नजिकबाट निगरानी गरिरहेको जनाएको छ। सम्भावित ताल फुटाइबाट हुन सक्ने क्षतिको आकलन गर्न बाढीको सिमुलेशन तथा प्राविधिक विश्लेषण भइरहेको र आपत्कालीन उद्धारका लागि आवश्यक तयारीसमेत अघि बढाइएको छ।

यसैबीच, नेपाल–चीन सीमाको नेपाली भू–भागबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाका (केरुङ)मा क्षति पुर्‍याएपछि चिनियाँ अधिकारीहरूले उद्धार तथा राहत अभियानलाई तीव्र बनाएका छन्।

भौगोलिक कठिनाइ, निरन्तरको वर्षा र थप विपद्को सम्भावनाबीच जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक तथा राहत संस्थाहरू परिचालन भएका छन्। उनीहरूले विमान, उद्धार उपकरण तथा राहत सामग्रीसहित प्रभावित क्षेत्रमा खोज, उद्धार र पुनःस्थापनाको काम अघि बढाइरहेका छन्।

सम्भावित ताल फुटेमा तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने भएकाले चिनियाँ पक्षले जोखिमको निरन्तर मूल्यांकन, पूर्वसूचना र आपत्कालीन उद्धार तयारीलाई उच्च प्राथमिकता दिएको छ।

प्रकाशित: ११ भाद्र २०८३ १४:४४ बिहीबार