समाज

मनै लाेभ्याउने ‘जुरेढुङ्गा’ घुम्न जाने कि!

आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा ओझेलमा परेको छ।

रसुवाको नौकुण्ड गाउँपालिका–१ मा अवस्थित समुद्र सतहबाट दुई हजार ९८० मिटरको उचाइमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक किंवदन्तीले भरिपूर्ण छ।

जुरेढुङ्गाको पुछारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ, जहाँबाट नौकुण्ड गाउँपालिकाका थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लाच्र्याङटार, फाम्चेत, पार्‍याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली र सातधारे हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

यहाँबाट छिमेकी जिल्ला नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी र चिसापानी लगायतका डाँडाकाँडा स्पष्ट देखिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जुरेढुङ्गा वरपर थुप्रै खर्क र आकर्षकस्थल छन्।

चैत–वैशाखमा ३२ भन्दा बढी प्रजातिका लालीगुराँस फुल्छन्। जैविक विविधतायुक्त यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (रातोहाब्रे) को समेत वासस्थान छ। यहाँ ठूल्ठूला गुराँस, खस्रु र गोब्रेसल्लाका रुखहरू रहेकाले जङ्गलको मनोरम आनन्द लिन सकिन्छ।

उक्त क्षेत्रको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासबारे नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलानले जुरेढुङ्गालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पालिकाका तर्फबाट विभिन्न प्रयास भइरहेको बताए।

जुरेढुङ्गा प्राकृतिक र सांस्कृतिक रूपमा निकै महत्त्वपूर्णस्थल हो। यस क्षेत्रमा सडक सञ्जालको सहज पहुँच पुर्‍याउन र पर्यटन प्रवर्द्धनका लागि पालिकाबाट योजनाबद्ध रूपमा प्रयास हुँदै छन्।

यसैगरी, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जुरेढुङ्गा आन्तरिक तथा बाह्य पर्यटन दुवैका लागि हाइकिङ (पदमार्ग) को उत्कृष्ट सम्भावना भएको ठाउँ रहेको बताए।

पर्यटकीय विकासका लागि समाजले चालेको कदमबारे उल्लेख गर्दै अध्यक्ष न्यौपानेले जुरेढुङ्गा र आसपासका क्षेत्र हाइकिङ गन्तव्यका रूपमा स्थापित गर्न र प्रचारप्रसार व्यापक बनाउन समाजले विशेष पहल सुरु गरेको छ।

यहाँको तामाङ वेशभूषा, रैथाने संस्कृति, सूर्योदय र सूर्यास्तको दृश्य, चौँरी एवं भेडाका खर्कहरू र कृषि तथा तरकारी फर्महरू यहाँका थप आकर्षण हुन्। रसुवा, नुवाकोट र काठमाडौँबाट छोटो बिदा मिलाएर यहाँको यात्रा सजिलै तय गर्न सकिन्छ।

जुरेढुङ्गा पुग्न विभिन्न यातायातका मार्ग प्रयोग गर्न सकिन्छ। पासाङल्हामु राजमार्गको गोम्बोडाँडा–स्याउबारीबाट गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले र दिलिङ हुँदै यहाँ पुग्न सकिन्छ।

कालिकास्थान घुम्तीबाट जिवजिवे, ज्याङलाङ, आहालडाँडा, गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले र दिलिङ भएर पनि यात्रा तय गर्न सकिन्छ।

नुवाकोटको विदुरबाट नुवाकोट दरबार, चोकदे, लच्याङ, सरमथली, पार्‍च्याङ, लाङ्बु (बिजिली जोङ) भएर तथा बेत्रावतीबाट नौकुण्ड गाउँपालिकाको पाच्र्याङ पुगेर पर्यटकीयस्थलमा पुग्न सकिने स्थानीयले जनाएका छन्।  

प्रकाशित: १३ कार्तिक २०८३ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App