समाज

मध्यपूर्व तनावको प्रभाव नेपाली भान्सामा

मध्यपूर्व क्षेत्रमा १३ दिनदेखि जारी तनावको असर नेपालका सहरी क्षेत्रमा देखिन थालेको छ। विशेष गरी पश्चिम नेपालका मुख्य सहरहरू नेपालगन्ज, कोहलपुर, बुटवल, धनगढी, घोराही र तुलसीपुरमा एलपी ग्यासको माग उल्लेख्य रूपमा बढेको छ।

ग्यास उद्योगका अनुसार पछिल्ला दिनमा बजारमा ग्यासको माग झन्डै दोब्बर बढेको छ। भारतबाट आउने ग्यास ट्यांकरको संख्या घटेपछि आपूर्तिमा पनि केही कमी देखिएको उद्योगीहरूले बताएका छन्। नेपालगन्जस्थित भेरी ग्यास उद्योगका अनुसार पहिले दैनिक ६ वटा ग्यास ट्यांकर भारतबाट लोड भएर आउने गर्दथे। तर अहिले उक्त संख्या घटेर दैनिक करिब ३ ट्यांकरमा सीमित भएको छ। आपूर्ति घटेपछि उपभोक्तामा ग्यास अभाव हुने चिन्ता बढ्दै गएको छ।

यस्तै अवस्थालाई मध्यनजर गर्दै नेपाल आयल निगमले ग्यास वितरण प्रणाली व्यवस्थित गर्न नयाँ निर्णय गरेको छ। निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म प्रत्येक उपभोक्तालाई आधा सिलिन्डर मात्र ग्यास बिक्री गर्ने व्यवस्था गरेको छ। निगमले विज्ञप्तिमा हालको परिस्थितिलाई दृष्टिगत गर्दै एलपी ग्यासको आपूर्ति तथा वितरणलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको उल्लेख गरेको छ। निर्णयअनुसार अब ग्यास ७.१ किलो एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री गरिनेछ। निगमले उपभोक्तालाई सोहीअनुसार ग्यास खरिद गर्न अनुरोध गरेको छ।

इन्धन डिपो नेपालगन्जका प्रमुख मनोहर बिसीले तत्काल ग्यासको अभाव भने नरहेको बताएका छन्। उनका अनुसार हालसम्म ग्यास उद्योगहरूले नियमित रूपमा बजारमा ग्यास पुर्याइरहेका छन्।  

भेरी ग्यास उद्योगका म्यानेजर आवेश यादवले पनि तत्काल ग्यास अभाव नभएको बताए। उद्योगसँग करिब चारदेखि पाँच दिनसम्मलाई पुग्ने ग्यास मौज्दात रहेको उनले बताए। ‘सरकारको निर्णयअनुसार शुक्रबारदेखि आधा सिलिन्डर दिन थालेका छौं। अहिले बजारमा ग्यासको माग दोब्बर बढेको देखिन्छ,’ यादवले भने।  

भेरी ग्यास उद्योगबाट मात्र दैनिक करिब ७ हजार सिलिन्डर ग्यास बजारमा पठाउने गरेको उनले बताए। तर पछिल्लो समय उपभोक्ताले ग्यास संकलन गर्ने प्रवृत्ति बढेपछि माग ह्वात्तै दोब्बरले बढेको उनले जनाए।

ग्यास विक्रेता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष लालबहादुर केसीका अनुसार उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण गर्न थालेपछि बजारमा असहजता देखिएको हो। ‘बजारमा अहिले नै ग्यास नपाइने अवस्था छैन,’ उनले भने, ‘अनावश्यक रूपमा ग्यास जम्मा गर्नुपर्ने अवस्था छैन।’

दाङ जिल्लामा मात्र दैनिक करिब चार हजार सिलिन्डर ग्यास खपत हुने गरेको उनले बताए। उद्योगहरूले पहिलेकै अनुपातमा सिलिन्डर बजारमा पठाइरहेकाले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।

यद्यपि भारतबाट आउने ग्यास आपूर्ति लामो समयसम्म घटिरहेमा आगामी दिनमा बजारमा ग्यास व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने सरोकारवालाहरूले बताएका छन्। तत्काललाई ग्यास आपुर्ती नरोकिए पनि उपभोक्ताले अनावश्यक रुपमा भण्डार गर्दा असहज स्थिति सिर्जना भएको व्यवसायीहरुको भनाइ छ।

प्रकाशित: २९ फाल्गुन २०८२ १७:२५ शुक्रबार