समाज

सरकारले यो दशैंमा खसीबोका नबेच्‍ने

यो वर्षको दशैंमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ।

हरेक वर्ष दशैंलाई लक्षित गर्दै उपत्यकामा सहुलियत दरमा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यसपटक भने बजेट अभावका कारण उक्त कार्यक्रम रोक्ने निर्णय गरेको हो। खसीबोका खरिदका लागि यस वर्ष बजेट विनियोजन नभएकाले खरिद प्रक्रिया अघि नबढाइएको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताएका छन्।

दशैंमा उपभोक्तालाई राहत दिने उद्देश्यले कम्पनीले सुपथ मूल्य पसल भने सञ्चालनमा ल्याएको छ। भदौ २८ गतेदेखि देशभरका ४४ जिल्लाका १९३ स्थानमा यस्ता पसल सञ्चालन भइरहेका छन्।

यी पसलमा चामल, दाल, तेल, चिनी र नुनलगायत दैनिक उपभोग्य सामग्री बिक्री भइरहेका छन्। साथै चिनो, कागुनो, फापर र सिमीलगायत स्थानीय उत्पादनसमेत उपलब्ध छन्।

उपभोक्ताले सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दा प्रति वस्तु ५ रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ।

यस वर्ष सरकारी सहुलियतको खसीबोका उपलब्ध नहुने भए पनि दशैं लक्षित सुपथ मूल्य पसलमार्फत खाद्य सामग्रीमा राहत दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ।

प्रकाशित: १ आश्विन २०८३ १३:१७ बिहीबार