बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र चक्रवातमा परिणत हुने सम्भावना रहेकाले कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको छ।
नेपाल मौसम विज्ञान विभागले मौसम मोडल तथा भूउपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्क विश्लेषणका आधारमा पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा शुक्रबार बिहान ५ः४५ बजे न्यून चापीय क्षेत्र विकसित भएको जनाएको छ।
विभागका अनुसार उक्त न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली हुँदै कात्तिक ९ गते (अक्टोबर २६), सोमबार चक्रवातीय आँधी (साइक्लोनिक स्टर्म) मा विकसित हुने सम्भावना छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तरी आन्ध्र प्रदेश तथा आसपासको दक्षिणी ओडिसा तटबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ।
उक्त मौसम प्रणालीका कारण कात्तिक ११ बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने विभागको अनुमान छ।
यद्यपि, यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ।
सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन विभागले आग्रह गरेको छ।
विभागले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने भन्दै विभागले मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि नियमित रूपमा विभागबाट जारी हुने सूचना हेर्न अनुरोध गरेको छ।
थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखामा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।
प्रकाशित: ७ कार्तिक २०८३ ०७:३२ शनिबार