चैत्र कृष्ण औँसीमा मनाइने घोडेजात्रा हिजो बुधबार भव्य रूपमा सम्पन्न भयो। काठमाडौंको टुँडिखेलमा घोडाहरूको दौड, सैनिक प्रदर्शन र परम्परागत विश्वासको पुनः स्मरणसँगै एउटा सांस्कृतिक चक्र फेरि पूरा भयो। तर आज बिहीबारको दिन त्यसको भोलिपल्ट मात्र होइन, एउटा गहिरो सांस्कृतिक अर्थ बोकेको समय हो। नेपाली समाजमा एउटा प्रचलित भनाइ छ:- घोडेजात्राको भोलिपल्ट गरौँला।
यो वाक्य प्रायः काम टार्न, ढिलाइ गर्न, वा नगर्न खोजिएको जिम्मेवारीबाट उम्कन प्रयोग गरिन्छ। तर विडम्बना के छ भने, त्यो ‘भोलिपल्ट’ कहिल्यै आउँदैन जस्तो हुन्छ। आज भने त्यो दिन साँच्चै आएको छ। त्यसैले यो केवल भाषिक संयोग होइन। यो एउटा ऐतिहासिक, सामाजिक र नैतिक सन्देश दिने क्षण हो।
टार्ने संस्कृतिबाट थाल्ने संस्कृतितर्फ
हाम्रो समाजमा काम टार्ने प्रवृत्ति कुनै नयाँ कुरा होइन। व्यक्तिगत जीवनदेखि राज्य सञ्चालनसम्म, ‘अहिले होइन, पछि’ भन्ने सोचले गहिरो जरा गाडेको छ।
यहाँ निर्णयहरू लम्बाइन्छन्। योजनाहरू रोकिन्छन्। अनुसन्धानहरू अधुरै रहन्छन्। न्याय प्रक्रिया वर्षौँसम्म झुलाइन्छन्। ‘घोडेजात्राको भोलिपल्ट’ भन्ने उखानले यही मानसिकतालाई प्रतिनिधित्व गर्छ। अस्पष्ट, अनिश्चित, र अनन्तसम्म टारिने समय।
तर आज, जब साँच्चै घोडेजात्राको भोलिपल्ट आएको छ, एउटा प्रश्न उठ्छ:- अब पनि हामी काम टार्ने हो, कि सुरु गर्ने?
परम्परा र समयको सम्बन्ध
पहिलेको नेपाली समाजमा समय मापन आधुनिक घडी वा क्यालेन्डरले होइन, चाडपर्वले हुन्थ्यो। मानिसहरू भन्थे, दशैंपछि गर्छु, तिहारपछि हेरौँला, घोडेजात्रापछि मिलाउँछु। यी सन्दर्भहरू केवल समय होइन, जीवनशैली थिए।
तर घोडेजात्रा अन्य चाडजस्तै बारम्बार नआउने, वर्षको अन्ततिर पर्ने र अलि कम ‘व्यावहारिक’ रूपमा प्रयोग हुने भएकाले यसको भोलिपल्ट झन् अनिश्चित प्रतीक बन्यो।
त्यसैले घोडेजात्राको भोलिपल्ट भन्नु भनेको कहिल्यै नआउने जस्तो समय, अहिले नगर्ने बहाना, जिम्मेवारीबाट भाग्ने बाटो हुन्थ्यो।
घोडेजात्रा केवल खेल वा प्रदर्शन होइन। यसको गहिरो सांस्कृतिक अर्थ छ। काठमाडौं उपत्यकामा प्रचलित मान्यताअनुसार, यो पर्व गुरुमाफा नामक दुष्ट आत्मालाई दबाउने विश्वाससँग जोडिएको छ। घोडा दौडाएर त्यो आत्मालाई थिच्ने र शहरलाई सुरक्षित बनाउने प्रतीकात्मक अभ्यास गरिन्छ। दुष्ट शक्तिमाथि नियन्त्रण, अव्यवस्थामाथि अनुशासन र अराजकतामाथि राज्यको नियन्त्रणको रूपमा बुझिन्छ।
वर्तमान सन्दर्भमा हेर्ने हो भने, आजको ‘गुरुमाफा’ भ्रष्टाचार, ढिलासुस्ती, शक्तिको दुरुपयोग, जनताको अपेक्षाविपरीत शासन हुन्। घोडेजात्राको भोलिपल्ट भनेको अब यी ‘गुरुमाफा’ हरूलाई दबाउने दिन हुनुपर्छ।
अब यो अर्थलाई वर्तमान सन्दर्भमा हेर्ने हो भने, आजको ‘गुरुमाफा’ भ्रष्टाचार, ढिलासुस्ती, शक्तिको दुरुपयोग, जनताको अपेक्षाविपरीत शासन हुन्। घोडेजात्राको भोलिपल्ट भनेको अब यी ‘गुरुमाफा’ हरूलाई दबाउने दिन हुनुपर्छ।
आजको नेपालमा चुनौती
आजको नेपालमा सबैभन्दा ठूलो समस्या भनेको काम सुरु हुनु तर पूरा नहुनु हो। वर्षौँसम्म पुल अधुरा, सडक कालोपत्रे भएर पनि पुनः भत्किने, बजेट खर्च नहुने समस्याले मुलुक आजित छ।
त्यस्तै मुद्दाहरू दशकौँसम्म लम्बिने, दोषी छुट्ने, निर्दोष अल्झिने अवस्था छ। अनि सानो कामका लागि महिनौँ कुर्नुपर्ने, फाइलहरू टेबलबाट टेबल घुमिरहने चक्र चलिरहेको छ। ठूला काण्डहरू खुल्ने तर कारबाही नहुने यस्तैमा जनताको विश्वास क्रमशः घट्दै गएको छ।
अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो चुनौती भनेको जनताको विश्वास पुनः स्थापित गर्नु हो। तर यो भाषणले होइन, कामले मात्र सम्भव छ।
अब बहाना होइन, काम
त्यसैले अब ‘घोडेजात्राको भोलिपल्ट’ भन्ने छुट छैन। किनकि आज नै त्यो दिन हो। त्यसैले आजैबाट पारदर्शी निर्णय, जवाफदेहिता, नीतिगत स्पष्टतासहित अगाडि बढ्नुपर्छ।
ठूला माछा बचाउने प्रवृत्ति अन्त्य गरी अनुसन्धानलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने बाटोमा हिँड्नुपर्छ। रोकिएका योजना सञ्चालनका लागि प्राथमिकता निर्धारण र समयसीमा भित्र काम सम्पन्न गर्ने बाटो पहिल्याउनुपर्छ।
सेवा वितरणमा छिटो निर्णय, जनतासँग सिधा सम्बन्ध कायम गर्नुपर्छ। बिहानीले दिन देखाउँछ। यसको अर्थ के हो भने, सुरुवात राम्रो भयो भने परिणाम पनि राम्रो हुन्छ।
आज, घोडेजात्राको भोलिपल्ट हो। यही बिहानी हो। यही सुरुवात हो। यदि आजबाट काम सुरु भयो भने, भोलिको नेपाल फरक हुन सक्छ। जनताको विश्वास फर्किन सक्छ। व्यवस्था बलियो हुन सक्छ।
तर यदि आज पनि टारियो भने, ‘घोडेजात्राको भोलिपल्ट’ फेरि अर्को बहाना मात्र हुनेछ।
आज केवल एउटा मिति होइन। आज एउटा प्रतीक हो:- टार्ने संस्कृतिको अन्त्य, काम सुरु गर्ने घोषणा, जिम्मेवारी स्वीकार गर्ने।
त्यसैले ‘घोडेजात्राको भोलिपल्ट’ अब बहाना होइन, कारबाहीको दिन हो। निर्णयको दिन हो। सुरुवातको दिन हो।
त्यसैले आजैबाट सुशासन सुरु हुनुपर्छ, भ्रष्टाचारमाथि कारबाही हुनुपर्छ, रोकिएका योजना चल्नुपर्छ। किनकि आजै हो- ‘घोडेजात्राको भोलिपल्ट’।
प्रकाशित: ५ चैत्र २०८२ १४:०७ बिहीबार