समाज

पीडित भन्छन्: अस्पतालको लापरबाहीले छोराको मृत्यु, चिकित्सक भन्छन्: हाम्रोमा मृत्यु भएको होइन

सामाजिक सञ्जालमा एउटा बुबाको चित्कार अहिले भाइरल भइरहेको छ। धनुषाको हंसपुर नगरपालिका–६ सोनिगमाका शम्भु साहले आफ्नै फेसबुकबाट पोस्ट गरेको उक्त भिडियो (बिहीबार) सम्म १२ लाख मानिसले हेरिसकेका छन्। उनले भिडियोमा छोरा आयुषको शव एम्बुलेन्समा राखेर जनकपुरको न्युरो अस्पतालले  जन–धन दुवै लिएको बिलौना गरिरहेको देखिन्छ। अस्पतालले पैसा हुँदासम्म लुटेको र सकिएपछि रेर्फर गरेको भन्दै कसैलाई अस्पतालमा नजान अनुनय पनि गरिरहेका छन् ।

गत माघ १९ गते शम्भुको १६ वर्षीय छोरा आयुष कुमार साह मोटरसाइकल दुर्घटनामा परे। दुर्घटनामा परी घाइते भएका साहलाई जनकपुरधामको न्युरो अस्पतालमा उपचारको लागि ल्याइयो। अस्पतालले दुई महिना उपचार गरे। तर, आयुषको स्थिति सुधार नभई झन् बिग्रिँदै गयो। त्यतिन्जेल सम्म अस्पताल पक्षले आयुषको बुबा शम्भु साहसँग आठ लाख रकम उपचार बापत लिइसकेका थिए। त्यसपछि आयुषको बुबा शम्भु पैसा दिन हच्किए। 

‘अस्पतालले मलाई ठगिरहेको छ जस्तो भान भयो,’शम्भुले भने,‘मैले सुधार नभए पैसा दिन्न भने अनि उनीहरू रेफर गर्ने तयारी गर्न थाले।’ पैसा नआउने देखेपछि उनीहरू बलपूर्वक चेक र तमसुक बनाएर रेर्फर गरेको आयुषको बुबा शम्भुको भनाइ छ।  

काठमाण्डौंस्थित ट्रमामा पनि दुई महिना उपचार भयो। जेठ २२ गते ट्रमामाबाट फर्किए। र, साउन २ गते आयुषको मृत्यु भयो। तर, आयुषका बुबा शम्भुका अनुसार ट्रमाका चिकित्सकहरूले केस पहिला नै बिग्रिसकेको हुनाले बचाउन गाह्रो भएको जवाफ दिएको बताए।

‘ब्रेन खोलेर मिस्टेक गरेको छ, समयमा आएको भए ठिक हुन्थ्यो,’शम्भुले ट्रमाको चिकित्सकको कुरा उद्धृत गर्दै भने,‘केस पहिले नै बिग्रिसकेको बतायो।’ आर्थिक अवस्था कमजोर रहेको र भएको सम्पत्ति पनि बिक्री गरेर उपचार गराइसकेका शम्भु अन्य अस्पताल जानेँ आट गरेनन्।  

शम्भुको श्रीमती रिंकु देवी साहले अस्पतालले खराब नियत राखेर उपचार गरेको बताइन्। आठ लाख नगद तिरिसकेका उनीसँग एक लाख ९० हजारको चेक औषधी बापत, पाँच लाख २६ हजारको चेक अस्पतालले लिए। तर, पनि सात लाख १६ हजारको रिंकुको श्रीमान् शम्भुसँग बलपूर्वक तमसुक बनाएको आरोप छ।  

शम्भु जस्तै पीडित छन्,धनुषा शहीदनगर नगरपालिका–५ बिर्ताका चन्देश्वर कापर। उनको २२ वर्षीय छोरा जीवन कापरको पनि त्यही अस्पतालमा राखेर दुई महिना उपचार भयो। चन्देशवरसंग पनि आठ लाख लिए , तर, उनको छोरा गएको असार २७ गते मृत्यु भयो। चन्देश्वरले पनि न्युरो र त्यसको डाक्टर लुटेरा रहेको आरोप लगाए। ‘चार कठा जमिन बिक्री गरेर अस्पताललाई बुझाए । नपुग्दा फेरी गाउँबाट चन्दा सङ्कलन गरेर दिए,’उनले सुनाए,‘तर, पनि डाक्टरले छोरालाई बचाउन सकेनन् ।’ छोरालाई बेहोस बनाइ–बनाइ पैसा लुटेको उनको आरोप छ।

अर्का पीडित छन् महोत्तरी औरही नगरपालिका–४ का रञ्जित कुमार रामको परिवार। रञ्जितको श्रीमती सङ्गीता कुमारी रामले श्रीमान् रञ्जितको न्यूरोमा एक महिना उपचार गराएको बताइन्। त्यस अवधिमा १५ लाख ९० हजार रुपैयाँ बुझाएको उनको दाबी छ। तर, अस्पतालकै लापरबाहीले श्रीमानको ज्यान भएको उनले गुनासो गरिन्। ‘सात दिनको उपचारपछि परिवारको सवैसँग कुराकानी ग¥यो। भिडियो कलमा पनि कुराकानी गर्न थाल्यो,’उनले स्मरण गर्दै भनिन्,‘हिँडडुल गर्न थालेको थियो। त्यसपछि अचानक पैसाको लोभमा बेहोस गरेर फेरी उपचार गरे।लुट्ने मनसाय राखेको थियो।’ बिरामीले बदमासी ग¥यो भनेर अस्पतालले बेहोसको सुई दिएको परिवारलाई जानकारी गराएको थियो । काठमाण्डौंको चिकित्सकले पनि जनकपुरकै न्युरो अस्पतालको कमजोरीले मृत्यु भएको बताएका थिए ।  

आयुष, जीवन र रञ्जित उपचारको क्रममा जनकपुरको न्यूरोमा मृत्यु हुने प्रतिनिधिमूलक घटना मात्र हुन् । कैयन परिवार शोकमा गएपछि घटना बाहिर आउँदैनन् भने कैयन घटना अस्पतालले नै दबाउने गरेका छन् ।  

यी तीनै घटना अहिले मिडियामा आएपछि अस्पताल प्रशासनले गएको मङ्गलवार पत्रकार सम्मेलन  समेत गरेको छ । उनीहरुले यो घटना झुटो भएको दावी गरे ।‘हामीले उपचार गरेको बिरामीको मृत्यु मेरो अस्पतालमा भएको छैनन्। यहाँबाट लगिसकेपछि मृत्यु भएको चिकित्सक राउतले नागरिकसँग भने’ हामीले सबै कुरा पत्रकार सम्मेलन गरेर भनिसकेका छौं, अझै केही बुझ्नु छ भने चिकित्सकलाई लिएर मृतकको घरमा गाएर बुझ्नुस । फोन गरेर ह्रास गर्ने काम नगर्नुस्।’

मृतक आयुषका बुवा शम्भुले न्यूरो अस्पतालमा २०÷२२ लाखा रुपैयाँ नबुझाएको दाबी अस्पताल प्रशासनले गरेको छ । अस्पताल प्रशासनका अनुसार शम्भुले ३ लाख नगद र पाँच लाखको चेक मात्रै दिइएको छ ।

अस्पतालका चिकित्सक न्युरो सर्जन विजय राउतले वेस्ट सेवा दिइरहेको दाबी गरे । ‘वेस्ट टिम, वेस्ट मसिन राखेर उपचार गर्छौँ,’उनले भने,‘अमेरिकामा हुने उपचार यही गरिरहेका छौँ।’

प्रकाशित: ८ श्रावण २०८२ १३:०३ बिहीबार

#NagarikNews #NepaliNews #Janakpur Neuro Hospital