सोलुखुम्बु महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ।
आज बिहान करिब ७:०० बजे जिल्ला सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-२ र ४ नम्बर वडाको हुङ्गा खोलामा गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं. २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको जानकारी प्राप्त भएको थियो। पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र करिब १५ मिटर अग्लो ड्याम बनेको थियो।
उक्त जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट र प्रहरी चौकी प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोशी-२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुई वटा हाइड्रोपावरलाई घटनाबारे जानकारी गराई हाइड्रोपावरमा रहेका कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको छ।
हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका-२ बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिएर खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने गर्दछ।
बिहान करिब ९:१० बजे खोलामा पहिरोका कारण बनेको ड्यामको ताल भरिएपछि पानी निकास हुन सुरु भएको छ। घटनाबारे थप विवरण तथा अवस्था बुझ्ने कार्य भइरहेको छ।
यो पनि पढ्नुहोस्
सोलुखुम्बुको हुंगा खोलामा पहिरो : एक सय मिटरभन्दा फराकिलो ताल बन्यो (अपडेट)प्रकाशित: २६ भाद्र २०८३ १०:२५ शुक्रबार