समाज

‘आलोपालो भाग लगाएर खाउँ’ भन्ने सोचले देश विकास हुँदैन, राष्ट्रिय सहमति आवश्यक: पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै अबको बाटो राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।

७५ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले हालको व्यवस्था र राजनीतिक नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

पूर्वराजाले प्रजातन्त्र प्राप्तिका लागि राजा र जनता मिलेर गरेको २००७ सालको क्रान्तिको स्मरण गर्दै राष्ट्रपिता श्री ५ त्रिभुवन र सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

तर, दशकौंदेखिको परिवर्तनले आम नागरिकको जीवनमा उल्लेख्य सुधार ल्याउन नसकेको उनको ठम्याइ छ।

राजनीतिक नेतृत्वलाई लक्षित गर्दै पूर्वराजाले भनेका छन्, ‘मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ। यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, सबै मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सक्छ।’

उनले अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्तिका कारण देश इतिहासकै कठिन र दर्दनाक स्थितिमा पुगेको दाबी गरे।

विगतमा भएका विभिन्न आन्दोलन र संघर्षहरूको सन्दर्भ उठाउँदै उनले ती परिवर्तनहरूले नेपाल र नेपालीलाई वास्तवमा के दियो भन्नेबारे अब आत्मा-समीक्षा गर्ने बेला आएको बताए।

‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको हरेक देशभक्त नेपालीले महसुस गरिरहेका छन्,’ उनले सन्देशमा भनेका छन्, ‘हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर हामी एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिमा रुमल्लिरहेका छौँ।’

प्रकाशित: ६ फाल्गुन २०८२ १७:०० बुधबार