बारा र पर्सा जिल्लामा दिनहुँ ठुलो मात्रामा लागु औषध गाँजा र चरेस तस्करी हुने गर्छ। नेपालको चुरे क्षेत्रबाट उत्पादन हुने गाँजा–चरेस ठुलो मात्रामा भारततर्फ चोरी तस्करी हुँदै आएको घटनाक्रमहरूले देखाउँछन्।
यस्तोमा प्रहरीले दिनहुँ जसो गाँजा–चरेस बरामद पनि गर्छ। त्यसरी गाँजा–चरेस बरामद हुँदा कतिपय अवस्थामा भरिया पक्राउ पनि पर्छन्। तर तस्कर समूहका नाइके तथा मुख्य कारोबारी भने उम्कँदै आएका छन्। उनीहरूलाई उम्काउन सुरक्षाकर्मी र राजनीतिक नेतृत्वको भूमिका रहेको आरोप लाग्ने गरेको छ। तस्कर समूहले महिनावारी दिने घुस रकमकै कारण सुरक्षाकर्मी र राजनीतिज्ञहरूले उनीहरूलाई संरक्षण गर्ने गरेको गुनासो स्वयं गिरोहकै सदस्यहरूका मुखबाट सुनिन्छ।
यस्तोमा सीमा क्षेत्रमा हुने गाँजा–चरेस तस्करी रोक्ने काम पूर्ण रूपमा बन्देज हुन नसक्ने जानकारहरू बताउँछन्।
तर प्रहरीले भने यो कुरालाई इन्कार गर्छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले प्रहरीले तस्करी नियन्त्रणमा चलाखीपूर्ण ढंगले काम गरिरहेको दाबी गरे। उनले प्रहरी खटिएकै कारण ठुलो परिमाणमा दिनहुँ गाँजा–चरेस बरामद भइरहेको बताए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले गाँजा–चरेस तस्करी नियन्त्रणमा प्रहरीले योजनाबद्ध काम गरिरहेको दाबी गरे। पर्साका नाकाहरू प्रयोग गरेर भारततर्फ हुने तस्करी कारोबारीलाई पक्राउ गर्न विशेष अभियान नै चलाइरहेको उनले सुनाए।
नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआइजी) उमाप्रसाद चतुर्वेदीको भनाइमा पछिल्लो समय मधेसका जिल्लामा धमाधम मुख्य कारोबारी नै पक्राउ परिरहेको दाबी गर्छन्।
सोही क्रममा सर्लाहीका ठुलो गाँजा तस्कर फेकन साह र सप्तरीका बुधनलाई पक्राउ गरेको दाबी गरे। उनका अनुसार दुवै जना सीमा क्षेत्रका ठुला लागुऔषध तस्कर हुन्। उनीहरूलाई लागु औषध बरामद भएको घटनाकै अनुसन्धान गर्दै जाँदा प्रमाणका आधारमा समातिएको उनले बताए।
‘सर्लाहीबाट हुने गरिने गाँजा तस्करीमा ४० प्रतिशत फेकनको र सप्तरी जिल्लाबाट गरिने गाँजा तस्करीमा ५० प्रतिशत बुधनको हात देखिन्छ। यी ठुला तस्कर हुन्,’ डिआइजी चतुर्वेदीले भने। यस्ता तस्करी घटनामा राम्रोसँग अनुसन्धान गरेर नाइकेसम्मै पुग्न आफूले मातहतका निकायमा निर्देशन दिएको उनले बताए।
‘प्रायः गाँजा र चरेस तस्करका नाइकेसम्म पुग्न प्रमाण अभावले समस्या हुन्छ,’ उनले भने, ‘नाइकेहरूले आफू बच्न चार÷पाँच तह बनाएर भरियामार्फत काम गर्छन्। जसले उनीहरूसम्म पुग्न कठिनाइ हुने गरेको देखिन्छ।’
मुख्य समस्या पक्राउ पर्ने भरियाले नै मुख्य कारोबारी नचिन्ने र नामै नभनि दिनाले तस्करका नाइकेसम्म पुग्न गाह्रो हुने डिआइजी चतुर्वेदीले बताए।
प्रकाशित: २६ असार २०८२ १६:१४ बिहीबार