समाज

पूजा गर्ने खोप्पाको मौरी घार, आम्दानीको स्रोत बन्दै

कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ। खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस्तै नित्य पूजापाठ गर्ने खोप्पामा मौरी बस्दै आएका छन्।

भान्छाको भित्ता रहेको खोप्पामा बस्ने मौरीले उत्पादन गर्ने मह घरधनी विनोद ढकालको परिवारका लागि भने विगत सात वर्षदेखि निरन्तर आम्दानीको स्रोत बन्दै आएको छ। स्थानीयका लागि यो दृश्य सामान्य लागे पनि गाउँभन्दा बाहिरका जोकोहीलाई भने खरको छानामुनि मौरीपालन सम्भव छ भन्ने अचम्मको विषय बनेको छ।

‘विसं २०७२ को विनाशकारी भूकम्पले केही क्षति गरे पनि खरले छाएको घुमाउने घरभित्र नित्य पूजा गर्ने र चोखो जल चढाउने खोप्पामा अहिले मौरीले भरिएको छ’, ढकालले भने, ‘गत वर्ष उक्त खोप्पाबाट १४ किलो मह उत्पादन भई बिक्रीबाट रु २० हजार आम्दानी भएको थियो।’ 

ढुङ्गाको छप्पनीमा बाहिरबाट सानो प्वाल पारेर राखेको चोखो खोप्पामा सात वर्षअघि जङ्गलमा रहेको काठको धोद्रो मुढामा रहेका मौरी छोपेर ल्याई राखेर भित्रबाट काठको ढक्कन बनाएर व्यवस्थित गरेको मौरी पछिल्लो समय सो परिवारको राम्रो आयआर्जनको स्रोत बनेको छ। 

रोजगारीका लागि सहर झर्नु र विदेशिनुभन्दा गाउँघरमा नै बसेर व्यावसायिक मौरीपालन गर्दै आएका ढकालको सो खरको छानो भएको घुमाउने घरमा खोप्पासहित मुढे र आधुनिक गरी १० तथा घरको वरिपरि कूल ५० वटा मौरीका घार रहेका छन्। खोप्पा र मुढे घारमा उत्पादित महको बजारमा उच्च माग रहेको छ।

ढकालले भने, ‘मौरीका लागि राम्रो मौसम भएमा एउटा घारबाट १० देखि १५ किलो मह उत्पादन हुन्छ, बजारमा प्रतिकिलोग्राम महको रु एक हजार ५०० मा बिक्री गर्दै आएको छु, वार्षिक मह र मौरीको पोलासहितको घार बिक्रीबाट रु सातदेखि आठ लाखसम्म आम्दानी हुने गरेको छ।’ यसवर्ष भने असोज र कात्तिकमा परेको पानीका कारण मह उत्पादनमा कमी आएको उनले बताए।

मौरीसहितको घारको पनि माग अत्यधिक रहेको छ। प्रतिघारको रु १५ हजारमा नाम्लोले बोकेर सम्बन्धित ठाउँमा पुर्‍याउँदै आएको उनको भनाइ छ। जङ्गलका धोद्रा रुखमा रहेका मौरीलाई छोपेर आधुनिक घारमा राख्ने गरेको बताउँदै ढकालले भने, ‘वार्षिक १० देखि १५ घार मौरी जङ्गलबाट ल्याउने गरेको छु।’

समुद्री सतहबाट लगभग १५ सय मिटरको उचाइमा रहेको तोगी गाउँमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ले प्रदान गरेको मौरीपालन तालिम र घार प्राप्त गरेपछि व्यावसायिकता पाएको तोगी पछिल्लो समय मौरी गाउँको रुपले परिचित भएको छ।

तोगीका प्रत्येक घरमा धेरै थोरै मौरीका घार रहेका छन्। मह र पोलासहितको घार बिक्रीबाट प्रत्येक वर्ष रु डेढ करोड बजारको नगद गाउँमा भित्रिने गरेको वडाध्यक्ष चलचित्र गुरुङले जानकारी दिए।

मादी गाउँपालिकालाई महको पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ पालिकाको आर्थिक सहयोग तोगीको पोलासहितको घार अन्य वडामा अनुदानमा विभिन्न वडाका बासिन्दालाई वितरण गरी विस्तार गर्दै आएको उनको भनाइ छ।

अध्यक्ष गुरुङले भने, ‘लोपोन्मुख ढकालको परम्परागत घुमाउने घरको संरक्षण गर्ने पालिकाले सोच बनाएको छ, यसको संरक्षणले भविष्यमा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।’ हरिप्रसाद बास्तोला/रासस

प्रकाशित: २६ मंसिर २०८२ १३:५७ शुक्रबार